मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

  • मिसन संवाददाता
  • मङ्लबार, माघ ९, २०८० १७:४२
मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ। मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए।

‘हामी सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ पार्टी महासचिवसमेत रहेका मन्त्री चन्दन सिंहले भने। उनका अनुसार केन्द्र सरकारबारे भने केही निर्णय भएको छैन। जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन्।

पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ। राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत असन्तुष्ट छ। राष्ट्रिय सभामा जनमतले कम्तीमा एक सिट पाउनुपर्ने दाबी गरेको थियो। तर सत्ता गठबन्धनका अन्य दलले जनमतलाई सिट नदिएपछि अध्यक्ष सिके राउत रूष्ट हुँदै बालुवाटारबाट बाहिरिएका थिए। जनमतले मधेश र लुम्बिनीमा राष्ट्रिय सभामा पार्टीका तर्फबाट उम्मेदवारसमेत खडा गरेको छ।

सोमबार सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथिका रूपमा बोलाए पछि जनमत रूष्ट बनेको हो। त्यसक्रममा प्रहरीसँग झडप हुँदा मधेसका शिक्षा मन्त्री मधेसप्रसाद यादव घाइते भएका थिए।

शिलान्यास कार्यक्रम रोक्न जनमतले गृह मन्त्रालयमा पत्राचारसमेत गरेको थियो। उसले जसपा अध्यक्ष यादवलाई कार्यक्रममा बोलाउँदा सप्तरीको शान्ति सुरक्षा नै खलबलिने बताएको थियो।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ ९, २०८० १७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट