पूर्वमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले कुटाइ खाएका छन्।
उनमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन्। श्रेष्ठ पनि हाल राप्रपाकै नेता हुन् । पाण्डेका कार्यकर्ताले श्रेष्ठलाई लखेटीलखेटी कुटेको राप्रपाकै एक नेता बताउँछन् ।
आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला सशस्त्रका पूर्वएआईजी श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेपछि बैठकमा लफडा सुरू भएको थियो।
लगत्तै पाण्डे बाहिर निस्केका थिए । पाण्डे निस्केको केही बेरपछि श्रेष्ठ बाहिरिने क्रममा पाण्डेका कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन्। श्रेष्ठ पार्टी कार्यालयभित्रै कुटिएका हुन्।
पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरूले जनाएका छन् ।