सांसदको निधनमा शोक प्रस्ताव पारित

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १२:११
सांसदको निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

६० वर्षीय शर्माको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको जनमत पार्टीले जनाएको छ । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा सांसद भएकी थिइन् ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने कार्यसूची हटेको छ ।

गत शुक्रबार प्रतिनिधि सभाको कार्यसूचीमा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । यो कार्यसूचीमा सभामुख देवराज घिमिरे प्रवेश गर्ने वित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । कांग्रेसको अवरोधपछि स्थगित प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

आइतबार गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने कार्यसूची हटाएर अन्य कार्यसूची राखिएको छ । आइतबारका लागि दुईटा कार्यसूची तय भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभाबाट पारित भएर आएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तुत गर्ने कार्यसूची पहिलो नम्बरमा छ ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट