गलेश्वर । म्याग्दीका ग्रामीण भेगमा परम्परागतरूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । आयातित कृषि औजार तथा हातहतियारको बढ्दो प्रयोग हुनुका साथै धेरै मिहिनेतमा कम आम्दानी हुने हुँदा नयाँ पुस्ताले आरन पेसा छोड्दै जान थालेपछि विस्तारै यो पेसा लोप हुने अवस्थामा पुगेको हो ।
बजारमा आधुनिक प्रविधिको प्रयोग गरी खुलेका कृषि औजार केन्द्रमा निर्माण भएका कृषि औजारका तुलनामा गाउँमा परम्परागत आरनबाट निर्माण गरिने औजार तथा हातहतियार महँगा हुने र बढी समय लाग्ने भएकाले पनि परम्परागत कृषि औजारको महत्वमा कमी आएको आरन व्यवसायीको गुनासो छ ।
गाउँघरमा प्रयोग गरिँदै आएका हँसिया, बञ्चरो, कोदाली, फाली जस्ता हतियार विस्तारै लोप हुँदै गएको बेनी नगरपालिका–२ का आरन व्यवसायी कर्णबहादुर विक बताउनुहुन्छ । “केही वर्षअघिसम्म परम्परागत आरनमा बनाइएका कृषि औजार र हातहतियारको प्रयोग बाक्लै हुन्थ्यो, बजारमा कृषि औजार र हातहतियारका साधन पाइँदैन्थ्यो, केही खर्च दिएर हँसिया, बञ्चरोजस्ता घरायसी हतियार बनाउन स्थानीयको चाप हुने गर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले समय फेरियो, बजारमा कृषि औजार कारखाना खुले, बजारमा उत्पादित सामानले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको हो ।”
यातायातको सहज पहुँच र आधुनिक कृषि औजारको प्रयोगका कारण विस्तारै गाउँघरमा परम्परागतरूपमा चलिआएको पेसा पनि लोप हुने स्थितिमा रहेको मङ्गलाका ७२ वर्षीय धनबहादुर विश्वकर्माले बताउनुभयो । मालिका गाउँपालिका–५ का तीर्थबहादुर बुढाले यस्ता पुराना पेसालाई संरक्षण गरेमा स्थानीयस्तरका स्रोतसाधनको पनि भविष्यमा राम्रो अवस्था हुने बताउनुभयो । गाउँघरमा भएका साधन, स्रोत र सीपलाई प्रयोगमा ल्याउँदा दिगो र टिकाउ हुने बुढाको भनाइ छ ।
पुख्र्यौंली सीप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केही नभएकाले पनि यसै व्यवसायमा दिन काट्नुपरेको ज्यामरुककोटका खड्गबहादुर विकको भनाइ छ । “मैले बुबासँग हँसिया, बञ्चरो बनाउने सीप सिकेकाले पनि अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सीप काम लागेको छ”, उहाँले भन्नुभयो, “त्यसैले पुख्र्यांैली पेसा र सीपलाई बचाइ आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटीका रूपमा लिँदै आएको छु ।”
पहिलेपहिले यसै पेसाले घरपरिवारलाई एक गास खुवाउन सहयोग पुगेको थियो भने जनसङ्ख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा गाउँघरका अन्य समुदायको हँसिया, बञ्चरो बनाउँदा बर्सेनि एक घरले एक–दुई पाथी मकै वा गहुँ दिने गरेकाले यस व्यवसायबाट घरपरिवार पाल्न समस्या भएको भकिम्लीका कर्णबहादुर विकले बताउनुभयो ।
एउटा हँसिया रु तीन सयसम्ममा बिक्री गर्ने गरेको जनाउँदै विकले हँसिया बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले यो पेसा छाड्दै कामका लागि खाडी मुलुक जानुपर्ने अवस्था आउँदा पेसा नै पलायन हुन लागेको बताउनुभयो ।
पछिल्लो समय बजारमा आधुनिक प्रविधि र सीपको प्रयोग गरी सस्तो र छिटोछरितो हुने कृषि औजार कारखाना खुलेपछि ग्रामीण क्षेत्रमा सञ्चालित परम्परागत आरन व्यवसाय सङ्कटमा परेका बूढापाकाहरुको भनाइ छ ।