विद्यार्थीलाई संस्कार सिकाउने अभियान

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ १३:४0
विद्यार्थीलाई संस्कार सिकाउने अभियान

धर्म, संस्कृति, नैतिकता र संस्कार पढाउन यहाँका २५ स्थानमा संस्थागतरुपमै अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालले जिल्लाको भद्रपुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा एकल विद्यालय अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई त्यस्तो कक्षामा सहभागी गराउँदै आएको छ । विद्यालयमा औपचारिक शिक्षा पाइरहेका विद्यार्थीलाई उनीहरुको बिहान र बेलुकाको उपयुक्त समय मिलाएर संस्कारयुक्त शिक्षा प्रदान गर्न एकल विद्यालय अभियान सञ्चालन गरिएको जनकल्याण प्रतिष्ठान एकल अभियानका जिल्ला अध्यक्ष शङ्कर भट्टराईले बताउनुभयो । जिल्लाका २५ वटै कक्षाका लागि अध्ययन गर्ने स्थान, कापी, किताब र शिक्षकको व्ययभार प्रतिष्ठानले बेहोर्दै आएको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानले शिक्षकलाई मासिक पारिश्रमिक दिँदै आएको छ । एकल विद्यालयमा विद्यार्थीलाई ध्यान र योग सिकाउनुका साथै मातापिता र अग्रजलाई गरिने आदर व्यवहारका बारेमा संस्कारयुक्त ज्ञान दिइने गरिएको अभियानका शिवसताक्षी प्रमुख पीताम्बर बरालले बताउनुभयो । नैतिकता, संस्कार, भाषा, गणित, सामान्य ज्ञान, विज्ञान, हस्तशिल्प, स्वास्थ्य र शारीरिक शिक्षासमेत एकल विद्यालयमा पढाइने उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानका जिल्ला अध्यक्ष भट्टराईका अनुसार २७ वर्ष पहिले धादिङको एउटा गाउँमा २८ विद्यार्थी पढाएर नेपालमा एकल विद्यालय अभियान प्रारम्भ भएको थियो । अहिले देशभर ४६ जिल्लाका पाँच सय एक गाउँमा यस्तो संस्कार सिकाउने कक्षा सञ्चालन भइरहेका छन् । एकल विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई आर्थिक स्रोतको अभावमा पर्याप्त पारिश्रमिक दिन नसकिएको उहाँले बताउनुभयो । एउटा कक्षा सञ्चालन गर्न वार्षिक न्यूनतम रु ३६ हजार अतिरिक्त खर्च हुने गरेको बताइएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ १३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट