एल साल्भाडोर सरकारले बुधबार थप दुई हजार गुण्डागर्दीका सन्दिग्ध गिरोहका सदस्यलाई विशाल जेलमा पठाएको छ । देशका न्याय मन्त्रीले अब उनीहरू कहिल्यै सडकमा नफर्कने भनी वाचा गर्नुभएको छ । उक्त कारागारमा पहिलेदेखि नै दुई हजार बन्दीलाई राखिएको छ । राष्ट्रपति नायब बुकेलेको प्रशासनले गुण्डागर्दीविरुद्धको १३ महिनाको अभियानमा दशौँ हजारलाई पक्राउ गरेको छ । उनीहरूमाथि कठोर कारबाही हुने चेतावनी दिनुभएको छ । बितेका तीन सय ५४ दिनमा करिब ६५ हजार सन्दिग्ध पक्राउ परेका छन् । मानवअधिकार समूहहरूले भने पक्राउ परेका कैयौँ दुव्र्यवहारको शिकार भएका तथा निर्दोष मानिस पनि प्रहरी काराबहीमा परेका बताएका छन् । सरकारले सामाजिक सञ्जालमा सार्वजनकि गरेको भिडियोमा हथकडी लगाइएका धेरै कैदीबन्दीलाई स्थानान्तरणका क्रममा खाली खुट्टा दौडिन बाध्य पारिएको देखाइएको छ । उनीहरूले सेतो सटमात्र लगाएका छन् । त्यसपछि उनीहरूलाई जमिनमा बस्न बाध्य पारिएको छ । सरकारका न्याय एवम् शान्ति मन्त्री गुस्ताभो भिल्लाटोरोले गुणडकर्दी गर्ने गिरोहका सदस्य अब कहिल्यै सडकमा नफर्कने वाचा गर्नुभएको छ । यद्यपि गिरफ्तार गरिएकामध्ये करिब ५७ हजार औपचारिक अभियोगको प्रतीक्षामा छन् । हालसम्म करिब तीन हजार पाँच सय जनामात्र रिहा भएका छन् । गत मार्च २७ मा देशभरि एकै दिन ६२ जना मारिएपछि राष्ट्रपति बुकेलेले गुण्डागर्दीमा संलग्न गिरोहहरूलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो । सडक गिरोहहरूले लामो समयदेखि एल साल्भाडोरका बासिन्दालाई मार्दै रकम लुट्दै आएका छन् । गुणगर्दीविरुद्ध अभियान थालिएपछिका दुई सय दिनमा कुनै पनि नागरिक गिरोहको आक्रमणबाट मर्नुपरेको छैन ।प्रहरीले जोसुकैलाई कारण नबताइ पक्राउ गर्न सक्छन् भने पक्राउ परेकालाई वकिल राख्ने अधिकार पनि छैन । उनीहरूलाई न्यायाधीशसमक्ष पेश नगरी १५ दिनसम्म हिरासतमा राख्न सकिने अधिकारी प्रहरीमा निहित छ । स्थानीय अधिकार समूह क्रिस्टोसलले बितेका ११ महिनामा मानवअधिकार हननका तीन हजार तीन सय ४४ घटना भएका अभिलेखीकरण गरेको छ ।