मिठाइदेवीलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० १३:३२
मिठाइदेवीलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७९’ मिठाइदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । झण्डै सात दशकदेखि सामाजिक न्यायका क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानका लागि समाजले विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार शान्ति समाजले स्थापना गरेको हो । विसं २०८० मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु एक लाख १० हजार पुरस्कार राशि र सम्मानपत्रसहित विश्वकर्मालाई पुरस्कृत गरिने सभापति रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । विसं १९९३ फागुन १० गते इन्द्रचोक काठमाडाँैमा जन्मनुभएकी विश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुनुहुन्छ । पशुपतिनाथ मन्दिरमा ‘कुकुर र अछुतलाई प्रवेश निषेध’ गरिँदै आएकामा त्यसको विरोध गर्दै विसं २०११ मा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उहाँ सक्रियरुपमा सहभागी हुनुभएको थियो । युवा अवस्थामै विसं २०१२ मा उहाँले नेपाल परिगणित नारी सङ्घको स्थापना गरी सो संस्थामार्फत काठमाडौँको दलित बस्तीमा विद्यालय स्थापना गर्नुभयो । दलित समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा महत्वपूर्ण योगदान दिनुभयो । नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि सङ्घर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धिमा योगदान गर्नुभएकी मिठाइदेवीले टीआर विश्वकर्मासँग विवाह गरेपछि दलित मुक्तिको आन्दोलनमा उहाँको सक्रियता अझ बढेर गएको हो । विश्वकर्माले भारतीय दलित साहित्य एकेडेमीद्वारा प्रदान गरिने डा अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारलगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । मदर्स केयर विद्यालयको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्राबासको स्थापनामा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो । विश्वकर्माले पत्रकारिताका क्षेत्रमा पनि योगदान गर्नुभएको छ । उहाँले विभिन्न साप्ताहिक तथा मासिकको सम्पादन गर्नुभएको छ । स्रष्टा विश्वकर्माको ‘नेपाली नारीको अवस्था र अवस्थिति २०६१’ नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन् ।

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट