काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार रोक्नलाई दलतन्त्र फाल्नुपर्ने बताएका छन् ।
आज सर्लाही जिल्लाको बयलवासमा आयोजित आजपाको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दलीय भागबन्डाको कारण संस्थागत रुपमा भ्रष्टाचारले जड गाडेको जिकिर गरे । पैसा र पावरको भरमा हुने चुनावले लोकतन्त्रको प्रत्याभूति गराउन नसकेको बताउदै अध्यक्ष साहले दलतन्त्रको अन्त्य गरेर आम जनताको शासन ल्याउनुपर्ने बताए ।
‘तपाईहरु हेर्न सक्नुहुन्छ, देशमा कसरी दलतन्त्र हाबी भएको छ । राष्ट्रिय सहमतिको नाममा सर्वदलीय भागबन्डा हुने गरेको छ । यस्ता सर्वदलीय भागबन्डाले भ्रष्टाचार लाई थप संस्थागत गरेको छ । दलले सरकार बनाउनको लागि संख्या पुर्याउनुपर्ने र संख्या पुर्याउन पैसा र पावर चाहिने रहेछ’ अध्यक्ष साहले भने, ‘पैसावालाले मात्र चुनाव लड्ने र त्यस्ता व्यक्तिले पैसाको खेल गरेर भ्रस्टाचारलाई संस्थागत गर्ने गर्दछ । त्यसैले दलतन्त्र र त्यहाँभित्र हाबी वैयक्तिक स्वार्थको अन्त्य गरेर आम जनताको शासन स्थापित गराउनुको विकल्प छैन् ।’
देशको आर्थिक समृद्धीका लागि अहिले व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताउँदै उनले अहिलेकै शासकीय प्रणाली, राजनीतिक नेतृत्व तथा राजनीतिक व्यवस्था एवं स्वरुपलाई अलग राखेर समृद्धी सम्भव नभएको बताए ।
मुलुकमा आफ्नो भविष्य नदेखेका लाखौ युवाहरु अहिले उदाशीन बनेको बताउँदै युवा जनशक्ति विदेशीने, पढेलेखेका व्यक्ति नेपालमा बस्न नचाहने, विधार्थी विदेश जान चाहने यस्तो विदेश पलायन हुने क्रम रोक्न नसकिएकोमा उनले चिन्ता व्यक्त गरे ।
आजपा अध्यक्ष साहले स्थिरता र असल नेतृत्वको अभाव देखिएको भन्दै आम युवाहरूमा एकता भाव जागृत गराउन नसकिएको बताए । अहिलेको शासकीय व्यवस्था परिवर्तन गरेर हामीले आर्थिक समृद्धी ल्याउँन सक्ने उनले बताए ।
कार्यक्रममा आजपाका उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष रिता साह, महासचिव उपेन्द्र साह, स्थायी कमिटी सदस्य रविन्द्र सिंह, प्रवक्ता चन्द्रभूषण साह लगायतको सहभागी रहेको थियो ।
सोही कार्यक्रममा सांसद पदका प्रत्याशी एवं माओवादी केन्द्रका युवा नेता विन्दु शाह, मेयर प्रत्याशी एवं नेपाली कांग्रेसका नेता महेश साह, जसपाका सुरेश यादव, लोसपाका रामबाबू साह लगायत विभिन्न पार्टी परित्याग गरी दुई सय ५० भन्दा बढी स्थानीय नेता कार्यकर्ता आजपामा प्रवेश गरेका छन् । आजपामा प्रवेश गर्नेलाई अध्यक्ष प्रभु साहले अविरमाला लगाई पार्टीमा स्वागत गर्दै राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे ।