कांग्रेस-एमाले मिले पनि प्रचण्ड डराउँदैनः प्रधानमन्त्री

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १६:१६
कांग्रेस-एमाले मिले पनि प्रचण्ड डराउँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूलाई मिल्न सके मिल्न चुनौती दिएका छन् । बुधबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कांग्रेस र एमाले मिले पनि आफू र आफ्नो दल नडराउने र प्रमुख प्रतिपक्ष बनेर बस्ने बताएका हुन् ।

‘हामी ठूला दल मिलियो भने तेरो हालत के हुन्छ ? हिजो पनि आज पनि भनियो, मेरो त कामना छ तपाईंहरू मिल्नुस् । सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूलाई लाग्या छ– त्यसो भनेर प्रचण्ड डराउँछ । कांग्रेसका साथीहरूलाई यदि त्यस्तो लागेको छ भने हिजो तपाईंहरू सबै मिलेर टाउकै काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभा’छ ? त्यस्तो हुँदैन ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा प्रतिनिधिसभामा भएको छलफलमा ठूला दलहरू मिले तपाईंको के हालत हुन्छ भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भनेपछि प्रचण्डले प्रतिक्रिया दिएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सत्तामा हुँदा बोली बारेर बसेको उल्लेख गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई रोस्ट्रमबाट भनेका थिए, ‘आउनुस् बसौँ । छलफल गरौँ । अब बोली बार्न पर्दैन ।’ ओलीले आह्वान गर्दा देउवाले टाउको हल्लाउँदै हुन्छ बसौँ भनेका थिए । त्यसैलाई संकेत गर्दै कांग्रेस महामन्त्री शर्मा र एकीकृत समाजवादीका पाण्डेले दुई दल मिल्दा के हालत हुन्छ भनेर प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले को राजनीतिक दल को सँग मिल्ने भन्न स्वतन्त्र रहेको उल्लेख गर्दै मन लागे मत दिन र नलागे नदिन भनेका थिए । ‘सरकारलाई समर्थन गरेपछि विरोध गरेजस्तो नगरेर हुन्थ्यो,’ उनले भनेका थिए ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट