पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरेको कविता प्रतियाेगितामा रुकुमपश्चिमका उमेश पुन मगरकाे ‘देशभित्र देखेको देश’ शीर्षककाे कविताले पहिलाे पुरस्कार जितेकाे छ ।
निर्णायक मण्डलले पुनकाे कवितालाई पहिलाे तथा कपिलवस्तुका सुभाष खनालकाे ‘पृथ्वीनारायण’ शीर्षककाे कवितालाई दाेस्राे स्थानका लागि छनाेट गरेकाे हाे ।
यस्तै सिजन श्रेष्ठकाे ‘पृथ्वीको यात्रामा पृथ्वी’ शीर्षककाे कविताले तेस्राे स्थान हासिल गरेकाे छ । दाङका अविरल डिसीकाे ‘बाँचौँ नेपाली बनी’, म्याग्दीकी निरुता बुढाथोकीकाे ‘ए मेरा सन्तति हो’ र लमजुङका प्रविण अधिकारीकाे ‘बडामहाराजलाई पत्र’ शीर्षककाे कविताले प्रोत्साहन पुरस्कार जितेकाे छ ।
राप्रपाले ४० वर्ष मुनिका युवाहरूलाई सहभागी हुनपाउने गरी ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहका बारेमा कविता प्रतियोगिताको खुल्ला आह्रान गरेको थियो । जसमा ३ सय ५ जना सर्जकले सहभागिता जनाएकाे राप्रपाले जनाएकाे छ ।
उत्कृष्ट कविता छनाेटका लागि वरिष्ठ कवि तथा साहित्यकारहरू विश्वविमोहन श्रेष्ठ, डा. नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेका थिए । कविता प्रतियाेगितामा पहिलाे, दाेस्राे, तेस्राे र सान्त्वना जित्नेले क्रमश: एक लाख, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कारस्वरुप पाउने छन् । उनीहरूलाई पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा हुने जलपान समारोहका बीच पुरस्कृत गरिने राप्रपाले जनाएकाे छ ।