न्यायाधिश थपलियालाई कारबाही हुन सक्ने : स्पष्टिकरण बुझाए

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २७, २०८० 0८:0७
न्यायाधिश थपलियालाई कारबाही हुन सक्ने : स्पष्टिकरण बुझाए

जाँचबुझमा तानिएका उच्च अदालतका न्यायाधीश नवराज थपलियाले न्याय परिषद्मा स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरण पत्र बुझेको १५ औँ दिनमा बिहीबार उनले न्याय परिषद् सचिवालयमा सफाइ पेस गरेका हुन्।

गत पुस ८ गते बसेको न्याय परिषद् बैठकले न्याय परिषद् ऐन, २०७३ को दफा २१ बमोजिम सफाइ पेस गर्न सूचना दिई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

तत्कालीन अवस्थामा उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश थपलियाको कार्यक्षमता, आचरण र कर्तव्य पालना नगरेको विषयमा गठित छानबिन समितिद्वारा प्रस्तुत प्रतिवेदनअनुसार उनीमाथि कारबाही प्रक्रिया अघि बढेको न्याय परिषद्ले जनाएको छ।

न्याय परिषद् ऐनको दफा २१ मा आरोपित न्यायाधीशलाई संविधान, ऐन वा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने देखिएमा न्याय परिषदले कारण र आधार खुलाई मनासिव अवधि तोकी सफाइ पेस गर्ने मौका दिनुपर्ने उल्लेख छ।

न्यायाधीश थपलियामाथि विभिन्न विचाराधीन मुद्दाका झगडियासँग भेटेर आचारसंहिताविपरीत काम गरेको निष्कर्षसहितको प्रतिवेदन सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा जाँचबुझ समितिले गत वर्ष नै दिएको थियो।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २७, २०८० 0८:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट