राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति घोषणा

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० १३:४३
राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति घोषणा

राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गतेलाई तोकेकी हुन् । उनले निर्वाचन कार्यक्रम म्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिवलाई निर्देशन समेत दिइन् ।

‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छु । साथै नियमावली बमोजिम संघीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु,’ उनले भनिन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।

नयाँ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति छ । कांग्रेसले पनि अध्यक्ष आफूले राखेर उपाध्यक्षमा विपक्षी गठबन्धनमा सहभागी हुने दललाई दिने गरी तयारी थालेको छ । समीकरण फेरबदलबाट प्रमुख प्रतिपक्षी बनेको कांग्रेसले पनि सत्तागठबन्धनको उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्ष रहेकी उर्मिला अर्याल, नारायण दाहाल र हालै लुम्बिनीबाट निर्वाचित झक्कुप्रसाद सुवेदी अध्यक्षका आकांक्षी छन् । शनिबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका छन् । एमालेलाई राष्ट्रिय सभा उपाध्यक्ष दिने सहमति भएकाले अर्यालले राजीनामा दिनुपर्नेछ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० १३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट