मनाङ मर्स्याङ्दीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ १९:५४
मनाङ मर्स्याङ्दीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

काठमाडौं । रोशन राना मगरको निर्णायक गोलको मद्दतमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीले मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मनाङ नयाँ विजेत बन्न सफल भएको हो । बुधबार सम्पन्न फाइनल खेलमा अर्को ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पालाई १–० गोल अन्तरले हराउँदै मनाङ बिजेता बनेको हो । मनाङको जितका लागि रोशनले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

विजेता बनेको मनाङले उपाधिसँगै नगद १५ लाख र उपविजेता शेर्पाले १० लाख रुपैया“ प्राप्त गरेको छ । नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीले यो सिजनमा पहिलो उपाधि जितेको हो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोशनले मनाङका लागि गोल गरेका हुन् । उनले खेलको ७८औँ मिनेटमा टिमले पाएको कर्नर किकलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

कर्नर किकबाट पाएको बललाई रोशनले हिमालयनका डिफेन्सले जज गर्नुभन्दा अघि नै पोष्टको दिशा दिन सफल भए । उनको बल हिमालयनका गोलरक्षक विश्वास चौधरीले बचाउ गर्न सकेनन् ।

बुधबारको खेलको ‘म्यान अफ दी म्याच’ गोलकर्ता रोशन घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

खेल अवधिभर मनाङविरुद्ध निकै राम्रो प्रदर्शन गरेको हिमालन शेर्पा अन्ततः गोल गर्न नसक्दा उपविजेतामै सीमित हुन पुग्यो । उसका खेलाडीहरूले पाएका केही सुन्दर अवसरहरूलाई खेर फालेका थिए ।

हिमालयनका विदेशी खेलाडी योमीले खेलको चौथो मिनेटमा पाएको वन भर्से वनको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो । यस्तै, खेलको ९०औँ मिनेटमा पुनः योमीले पाएको अवसर खेर गएको थियो । उनले डिबक्स भित्रैबाट गरेको प्रहार साइड पोलमा लागेर फर्किएको थियो ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ १९:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट