मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्‍यो कारबाही

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २९, २०७९ १७:११
मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्‍यो कारबाही

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले मेडिसिटी अस्पतालका दुई जना चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलको पूर्ण बैठकले बिरामीको उपचारका क्रममा अस्पतालका चिकित्सकले व्यवसायीक आचारण पूरा नगरेको भन्दै कारबाही गरेको हो।

काउन्सिलले अस्पतालका ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा. सुनिलकुमार शर्मा र उनी अन्तर्गत नै कार्यरत डा. राजिव मिश्रलाई चिकित्सकिय व्यवसायीक आचारण सुधार गर्न निर्देशन सहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

काउन्सिल स्रोतका अनुसार दुवै जना चिकित्सकलाई चैत ५ देखि ११ गतेसम्मका लागि निलम्बन गर्ने निर्णय भएको छ। डा. शर्मा र डा. मिश्रले उपचार गरेका योगेन्द्र बहादुर बस्नेतको गत जेठ २५ गते मृत्यु भएको थियो। बस्नेतलाई जेठ १७ गते उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। डा.शर्माले बस्नेतको पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सुझाब दिएका थिए।

बस्नेतको मृत्युपछि उनका छोरा समिरले उपचारका क्रममा लापरबाही भएको भन्दै दोषिलाई कारबाहीको माग सहित असार २८ गते काउन्सिलमा उजुरी दिएका थिए। सोही उजुरीपछि काउन्सिलले गरेको छानबिनका क्रममा उपचारका क्रममा चिकित्सकहरुले व्यवसायीक आचारण पालना नगरेको फेला परेको हो।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २९, २०७९ १७:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट