चौध निर्माण कम्पनीलाई कारबाहीको तयारी

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:३८
चौध निर्माण कम्पनीलाई कारबाहीको तयारी

भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी गरिएको छ । पालिकाभित्रका विभिन्न निर्माणको जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही सुरु गरिएको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले यस वर्ष दुई निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गर्नाका साथै थप १४ कम्पनीलाई कारबाहीका लागि कार्यपालिका बैठकले निर्णय भइसकेको छ । सिफारिसमा परेका दुई कम्पनी कारबाहीमा परिसकेका इन्जिनियर आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेकाले कारबाहीको प्रक्रिया अघि बढेको छ ।” कारबाही गरिएकामा काठमाडौँस्थित अनुष्ठा कन्स्ट्रक्सन प्रालि र भरतपुरस्थित जनकन्स्ट्रक्सन रहेका छन् । ती कम्पनीलाई कामको प्रकृति हेरी एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिने उहाँको भनाइ थियो । कालोसूचीमा परेका कम्पनीले एकदेखि तीन वर्षसम्म विकास निर्माणका लागि नयाँ ठेक्का सम्झौता गर्न नपाउने, बाँकी कामको समेत चलन चल्तीको मूल्यमा असुल उपर गराउने इन्जिनियर आचार्यले जानकारी दिनुभयो । महानगर उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता गरी काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा काम नगर्नेलाई कारबाही र समयमा काम सम्पन्न गर्नेलाई सम्मान गर्नेछौँ ।” ठेकेदार कम्पनीलाई कुनै पनि बहानामा काममा ढिलासुस्ती गर्न छुट नभएको उहाँको भनाइ थियो ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट