आईएनजीओको कार्यक्रम गर्न आरआर र नेपाल ल क्याम्पसमा पढाई बन्द

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० २१:0२
आईएनजीओको कार्यक्रम गर्न आरआर र नेपाल ल क्याम्पसमा पढाई बन्द

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ बिहीबारदेखि यहाँ विश्व सामाजिक मञ्चको १६ औँ संस्करण शुरु भएको छ । ९२ मुलुकका करिब ४० हजारको सहभागिता रहने सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन् ।

विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।

सम्मेलन पाँच दिनसम्म चल्ने छ  । सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा भएको पहिलो विश्व सामाजिक मञ्चको १६औँ संस्करण नेपालमा आयोजना भएको हो ।

सम्मेलनकै लागि भनेर कार्यक्रम आयोजना स्थल नजिकै रहेका रत्नराज्यलक्ष्मी क्याम्पस र नेपाल ल क्याम्पसले पठनपाठन बन्द गरेका छन् । आज दुवै क्याम्पसले विज्ञप्ति निकालेर पढाई नहुने जानकारी दिएका हुन् ।

नेपाल ल क्याम्पसको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा क्रियाशील सामाजिक तथा नागरिक संगठनहरुले यस क्याम्पसमा मिति २०८० फाल्गुण ४ गतेदेखि ६ गतेसम्म विश्व सामाजिक मञ्च २०२४ ( World Social Forum 2024, Nepal) कार्यक्रम यस क्याम्पसको Academic Partnership मा आयोजना गर्ने हुँदा उक्त कार्यक्रममा यस क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको समेत सक्रिय सहभागिता रहेन भएकोले मिति २०८० फाल्गुण ४ र ६ गते यस क्याम्पसमा सञ्चालित बी.ए.एलएल.बी. एलएल. बी. र एलएल. एम. तहका सम्पूर्ण पठनपाठन स्थगन गरिएको व्यहोरा सम्बन्धी सबैलाई सूचित गरिन्छ ।’

त्यसैगरी आरआर क्याम्पसले, ‘फाल्गुण ४, ५ र ६ गते यस क्याम्पस परिसरमा विश्व सामाजिक मञ्चको कार्यक्रम रहेकाले सो समयमा क्याम्पसका अधिकांश कक्षा कोठाहरूमा विभिन्न विषयवस्तुमा कार्यपत्र प्रस्तुती हुने भएकोले उक्त मितिका विहान ८:४५ बजेदेखि साँझ ४ बजेसम्मका कक्षाहरू सञ्चालन नहुने र सो समयमा विद्यार्थीहरूले आ-आफ्नो रूची बमोजिमका समसामयिक बिषयहरूका कार्यक्रममा सहभागी भई लाभ लिनहुन सूचित गरिन्छ ।’ भन्दै सुचना जारी गरेको छ ।

क्याम्पसको यो सुचनापछि अखिल क्रान्तिकारीका नेता शिशिर बस्यालले, ‘कलेजलाई विध्यार्थीको पढ्ने ठाउँ हो, INGO को कार्यक्रम गर्ने ठाउ होइन। ३ दिनसम्म कलेज बन्द गरेर कलेज INGO लाई भाडामा लाउने तिम्रो निर्णयको प्रतिकार हामी गर्छौ। भोलि बिहान ८ बजे कलेजमा कलेज प्रशासन सङ्ग हामी आमुन्ने सामुन्ने हुनेछौँ ।’ भन्दै विरोध जनाएका छन् ।

यसैगरी नेविसंघ, नेपाल ल क्याम्पसका सचिव मनमोहन भट्टले, ‘कलेजका विद्यार्थीले क्याम्पस समयमा कार्यक्रम नगर्नुस पो भनेको त ,NGO ,INGO को कार्यक्रम त सम्पुर्ण कक्षा बन्द गरेर भएपनी गर्नै पर्‍यो !! अनि क्याम्पसको नामबाट सूचना निकाल्दा जिम्मेवार हुनु पर्छ भनेर, मात्रै क्याम्पस प्रशासन लेख्ने चलनको नयाँ थालनी पनि भएछ नेपाल ल क्याम्पसमा !!’ भन्दै व्यंग्य गरेका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० २१:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट