दुर्गा प्रसाईले हैरान पारेपछि एनआईसी एशिया बैंकले मुख खोल्यो !

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १४:५४
दुर्गा प्रसाईले हैरान पारेपछि एनआईसी एशिया बैंकले मुख खोल्यो !

एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रियल स्टेट कर्जा लगानी नगरेको जनाएको छ । बैंकले विज्ञप्ति जारी गर्दै रियल स्टेट सेक्टरमा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म प्रवाह गर्न सक्नेमा पुस मसान्तसम्म १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको बताएको छ ।

बैंकले कर्जा जोखिम भारदरमा कुनै तोडमोड नगरेको पनि उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम सेक्यूर्ड रेसिडेन्सियल पोपर्टीज् सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको पनि बैंकले जनाएको छ ।

त्यस्तै बैंकले आफ्ना शाखा कार्यालयहरु पनि बन्द गर्न लागेको भन्नेमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले विज्ञप्ति मार्फत् जनाएको छ ।

बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी आएको समाचार अफवाह मात्र भएको उल्लेख गरेको छ । बैंकको कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित रहेको बैंकले स्पष्ट पारेको छ ।

यसैबीच बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको जनाएको छ । फागुन २ गते एक विज्ञप्ति जारी गर्दै एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

बैंकका नायब प्रमुख तथा सूचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दछौं ।’

‘यस बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको तथ्य सगौरव जानकारी गराउँदछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी विज्ञप्तिमा ‘संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, Overall Financial Indicators मा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा यस बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने बैंकको Mission मा निरन्तर सफल हुँदै गइरहेको पुष्टी हुने तथ्य समेत सहर्ष जानकारी गराउँदै बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको तथ्य समेत सम्पूर्ण सरोकारवालाहरूलाई प्रस्ट पार्दछौं ।’ उल्लेख छ ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट