लामो समयदेखि बन्द रहेको परम्परागत ‘सिस्टेनी मेला’ रुपावासीको सक्रियता फेरि सुरु भएको छ । पचासको दशकको सुरुतिर बन्द भएको उक्त मेलाको जगेर्नामा स्थानीय कस्सिएका हुन् । कास्कीको, रुपा गाउँपालिका–६ मा यसपालिको चैतेदशैँमा दोस्रो सिस्टेनी मेला हुँदैछ । रुपाताल छेउमा लाग्ने उक्त मेला यही चैत १५ देखि १७ गतेसम्म चल्ने आयोजक शान्तिरुपा बराहथोक तमु युवा परिवारले जनाएको छ । संस्थाका अध्यक्ष बुद्धिबहादुर गुरुङले खेल, कला, संस्कृति र पर्यटन प्रवद्र्धनको उद्देश्यले मेला राखिएको बताउनुभयो । कास्कीको तेस्रो ठूलो ताल रुपातालको प्रचारप्रसारमा पनि मेलाले सघाउने आयोजकको विश्वास छ । मेलाको आकर्षणमा पुरुष भलिबल, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना हुनेछन् । भलिबल प्रतियोगितामा प्रथम हुनेलाई रु ६० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । मेलाबाट बचत भएकोमध्ये ५० प्रतिशत रकम रुपाकोट ‘भ्यूटावर’ निर्माणमा खर्च गरिने अध्यक्ष गुरुङले बताउनुभयो । मेलाबाट रू छ लाख २४ हजार आम्दानी हुने र त्यसबाट खर्च खटाएर रु दुई लाख २५ हजार जति बचत हुने आयोजकको अनुमान छ । स्थानीय तुलबहादुर गुरुङले परापूर्वकालदेखि सिस्टेनीमा मेला लाग्ने गरेको सुनाउनुभयो । “द्वन्द्वलगायतका कारणले असुरक्षा बढेपछि मेला बन्द हुन पगेको थियो”, उहाँले भन्नुभयो, “हराएको मेलालाई गाउँले मिलेर फेरि जगाएका छौँ, पहिलेभन्दा मेला केही परिमार्जित भएको छ ।” बाउबाजेका पालामा झैँ मौलिकता दिन नसकेपनि मेलामा स्थानीय संस्कृति र खानपानलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । पहिले रुपाकोट गाविस हुँदा भङ्गेरा, बराहथोक र जमनकुनाका स्थानीयवासी मिलेर मेला चलाउँथे । मेला हेर्न छिमेकी तनहुँ, लमजुङ, पर्वत, स्याङ्जालगायत जिल्लाबाट मानिस आउने गर्दथे ।मेलामा घरेलु सीपबाट बनेका घरेलु हातहतियारसहितका घरायसी प्रयोगका सामानको किनमेल हुन्थ्यो । खाजा–खानाका परिकार पनि स्थानीय बाली र अन्नपातका हुन्थे । मेलामा चुड्का भजन र ठाडो भाका गाएर गाउँले एक आपसमा रमाउँथे । उहिलेदेखि त्यसरी चल्दै आएको मेला बन्द भएपछि चिन्तित स्थानीय फेरि एकजुट भएर मेलाको उत्थानमा लागेका हुन् । विसं २०७४ मा सोही संस्थाको आयोजनामा पहिलो सिस्टेनी मेला भएको थियो । बीचमा कोभिड–१९ महामारी आदि कारणले मेला स्थगित हुन पुग्यो । अहिले पुनः मेलाले निरन्तरता पाएको हो ।