तिनचुलेमा सडक र खानेपानी सुविधा

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ४, २०८० १३:३३
तिनचुलेमा सडक र खानेपानी सुविधा

म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ । ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याइएको हो । ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले नागबेलीखोलादेखि दावा हँुदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको जानकारी दिनुभयो । ताराखोला गाउँपालिकाको रु १० लाख र गण्डकी प्रदेश सरकारको रु ७५ लाख लगानीमा सडक निर्माण गरिएको उहाँले बताउनुभयो । तीन वर्षअघि सुरु भएको सडक निर्माणकार्य यसपाली सकिएको हो । सडक बनेपछि दुई घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ । मङ्गला–५ देउरालीदेखि तिलचुले जोड्ने पाँच किलोमिटर सडकको मार्ग खुलेको र थप दुई किलोमिटर मार्ग खोल्न बाँकी रहेको उपाध्यक्ष पेमा अधिकारीले बताउनुभयो । यसैगरी गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा पहाडको फेदीको मुहानबाट सौर्य ऊर्जाको प्रयोग गरि पानी तानेर तिनचुलेमा पु¥याइएको छ । चैतेथरीको मुहानबाट दुई हजार दुई सय मिटर लामो पाइपबाट लगेको पानी पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुई वटा धारा बनाइएको ताराखोलाको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताउनुभयो । गण्डकी प्रदेशका कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री चन्द्रबहादुर बुढाले तिलचुले भ्रमणका लागि पुग्ने पर्यटक तथा भक्तजनको सुविधाका लागि सडक र खानेपानीको व्यवस्था मिलाइएको बताउनुभयो । ताराखेलाका अध्यक्ष धनबहादुर विक र मङ्गला गाउँपालिकाका उपाध्यक्ष अधिकारीले दुईवटै पालिकाले सहकार्य गरेर तिनचुलेको पर्यटन विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दुई हजार नौ सय ७० मिटरको उचाइमा अवस्थित तीनचुले प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भएर पनि पूर्वाधार र प्रचारप्रसारका कारण ओझेलमा परेको छ । तीनचुलेबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, निलगिरिलगायतका हिमाल, बागलुङ र म्याग्दीको भूगोलका साथै सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । तीनचुलेमा मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्वसमेत छ । अर्मनको किमचौरबाट गाडी र पैदलयात्रा गरेर डेढ घण्टा तथा ताराखोलाको नागबेली खोलाबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि तीनचुले पुग्न सकिन्छ ।

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ४, २०८० १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट