नमोबुद्ध–८ मा दुई लाख लिटर क्षमताको ट्याङ्की शिलान्यास

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:४१
नमोबुद्ध–८ मा दुई लाख लिटर क्षमताको ट्याङ्की शिलान्यास

काशीखण्ड बृहत् खानेपानी आयोजनाअन्तर्गत नमोबुद्ध नगरपालिका–८ मा बन्ने दुई लाख लिटर क्षमताको ट्याङ्की शिलान्यास गरिएको छ । नमोबुद्ध–८ का एक हजारका साथै वडा नम्बर ७ र ९ का पाँच सय गरी एक हजार पाँच सय घरधुरी लाभान्वित हुने आयोजनाको सबैभन्दा ठूलो रिजर्भायर ट्याङ्कीको नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडा नं ८ का अध्यक्ष शेरबहादुर लामा र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख अतुलेश्वर कर्णले शिलान्यास गर्नुभयो । सङ्घीय सरकारको रु १५ करोड ४७ लाख ४३ हजार एक सय ९० को लागतमा निर्माण हुने आयोजनाका लागि वडा नं ८ को पिपलटारमा दुई इनार (सम्प वेल) निर्माण गरिएको छ । प्रति सेकेण्ड छ लिटर पानी सङ्कलन गरेर पाँच स्थानमा लिफ्टिङ गरी १७ ट्याङ्कीमा जम्मा गरेर वितरण हुने उपभोक्ता समितिका अध्यक्ष मनोज अधिकारीले जानकारी दिनुभयो । उच्चकोटी÷अमर÷नवआदर्श जेभीले निर्माणको जिम्मा पाएको छ । विसं २०७९ मङ्सिर ९ गते सम्झौता भएको आयोजना विसं २०८१ मङ्सिर २३ गते सम्पन्न गर्नुपर्नेछ । अध्यक्ष अधिकारीका अनुसार साविक डराउनेपोखरी गाविसमा रहेको दाप्चा खानेपानी उपभोक्ता समिति (स्किम नं २), डराउनेपोखरी खानेपानी उपभोक्ता समिति (क) र (ख) एकीकृत गरेर काशीखण्ड बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट