मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र १४, २०७९ १३:३६
मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं । मिटरब्याजपीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ। समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ।

सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ।

बैठकअघि पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ताटोली गठन गरिएको छ। वार्ताटोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल छन्।

वार्ताटोलीलाई मिटरब्याजपीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारे प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ।

पीडितहरूसँग वार्ताटोलीले छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले आज नै पीडितहरूसँग भेट गर्ने र थप छलफल गर्ने कार्यक्रमसमेत छ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र १४, २०७९ १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट