उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ । नेपालगन्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमासमेत उहाँहरुबीच छलफल भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने बताउनुभएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताउनुभयो । गृहमन्त्री जस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद व्यक्त गर्नुभयो । भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधी जस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुवै पक्ष संवेदनशील हुनुपर्ने राजदूत श्रीवास्तवले बताउनुभयो । गतवर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेको समेत राजदूत श्रीवास्तवले बताउनुभयो ।