२३ वर्षपछि विद्यालय पुनःस्थापना

  • मिसन संवाददाता
  • आइतवार, बैशाख ३, २०८० १७:१७
२३ वर्षपछि  विद्यालय  पुनःस्थापना

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विसं २०५७ मा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो । उक्त विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनःस्थापना गरिएको छ । नारायणीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित बन्न पुगेको थियो । विद्यालय विस्थापित भएको २३ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयको उद्घाटन गर्नुभयो । विसं २०२६ मा स्थापना भएको जनतासिद्ध निमावि विसं २०५७ को बाढीका कारण सीतापुरबाट विस्थापित भएपछि लुसलहरिको तत्कालीन अमर प्रावि भएको स्थानबाट सञ्चालन भएको थियो । एउटै परिसरबाट दुईवटा विद्यालय सञ्चालन भएको केही वर्षपछि दुई विद्यालय गाभिएर जनतासिद्ध अमर माध्यामिक विद्यालय बनेको थियो । त्यसबीचमा बाढी र डुबानका कारण विस्थापित भएका स्थानीयवासी क्रमशः बस्ती फर्किए पनि गाउँबाट विस्थापित विद्यालय भने फर्किएन । विद्यालय विस्थापित भएपछि सीतापुर नन्दपुर सेहरीका विद्यार्थीले अहिले अध्ययनका लागि अन्य क्षेत्र जानुपर्ने बाध्यता छ । विद्यालय स्थापनापछि गुणस्तरीय शिक्षाका लागि अन्य क्षेत्र पुग्नुपर्ने बाध्यता हट्ने विश्वास अभिभावकको छ । विगतमा विद्यालय सञ्चालनमा रहेको र भौतिक संरचनासमेत भएको स्थानमा विद्यालय स्थापनापछि अब गाउँमै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने नगरप्रमुख अधिकारीले बताउनुभयो । जनतासिद्ध विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने भन्दै उहाँले अभिभावकले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताउनुभयो ।

पहिलो चरणमा स्थापना भएको जनतासिद्ध र मध्यविन्दु नगरपालिकाको पहाडी क्षेत्र वडा नं १४ का सबै विद्यालयमा सबै व्यवस्थापन नगरपालिकाबाट गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकाको शैक्षिक अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राखेर अहिले काम भइरहेको जनाउँदै उहाँले सबै पक्षको सकरात्मक सहयोगको नगरपालिकाले अपेक्षा राखेको बताउनुभयो । मध्यविन्दु नगरपालिका शिक्षा अधिकृत कृष्ण रेग्मीले अभिभावकको माग, नगर शिक्षा समिति र नगरकार्यपालिकाको निर्णयानुसार विद्यालय स्थापना भएको बताउनुभयो । विद्यालय सञ्चालनका लागि समुदायस्तरबाट सहयोग हुने स्थानीय अभिभावकले प्रतिबद्धता व्यक्त गर्नुभयो । “विद्यालय यहाँबाट विस्थापित हुनुपहिले पाँच सय ६० विद्यार्थी यहीँ पढ्थे । विद्यालय लुसलहरि गएपछि २०२६ सालमा खुलेको विद्यालयको इतिहास पनि हरायो । गाउँका विद्यार्थीले पनि दुःख पाए”, विद्यालय स्थापना तयारी समितका संयोजक श्यामनारायण महतोले भन्नुभयो । विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका महतोले पूर्ववत् अवस्थामा विद्यालय सञ्चालन गर्न तत्काल सम्भव नभए पनि क्रमशः सबै विद्यार्थी र अभिभावकको रोजाइ बनाउन सबै समुदाय एकबद्ध भएको बताउनुभयो । आजदेखि वैशाख १० गतेसम्म विद्यालयले भर्ना अभियान सञ्चालन गर्ने मध्यविन्दु–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

  • मिसन संवाददाता
  • आइतवार, बैशाख ३, २०८० १७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट