पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १0:४0
पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित

एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ । तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले सो नगर अस्पतालको भवन शिलान्यास गर्नुभएको थियो । अस्पताल बनाउन भन्दै खनिएको घडेरीमा अहिले ठूला– ठूला बोट उम्रिएका छन् । घडेरी सम्याउनका लागि समथर बनाइएको जग्गाबाटै अनावश्यक ढुङ्गा–माटो निकासी भएपछि निर्माणले गति लिनसकेको छैन । खनिएकै घडेरीका कारण अहिले भइरहेको देवीस्थान स्वास्थ्यचौकीको भवनसमेत जोखिममा परेको छ । अस्पताल भवन निर्माण त परै जाओस् भइरहेको स्वास्थ्यचौकीको भवन जोगाउनका लागि नाली खन्ने काम भइरहेको फलेवास वडा नं ६ का अध्यक्ष नवीन श्रेष्ठले बताउनुभयो । घडेरी खन्ने क्रममा त्रुटि भएकाले समस्या भएको उहाँले जानकारी दिनुभयो । साविकको भवन जोगाउनका लागि रोकथाम गर्न थालिएको छ । घडेरी खन्ने नाममा अनावश्यक खर्च गरिएको छ । वडा नं ६ मा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १४ शय्याको अस्पताल निर्माण गर्न थालिएको थियो । निर्माण व्यवसायी र प्राविधिक सबैको मिलेमतोमा कमजोरी भएको जनप्रतिनिधिले नै बताउने गरेका छन् । अस्पतालको घडेरी सम्याउँदासमेत रु २० लाखभन्दा बढी खर्च भएको नगरका आर्थिक संयोजक मानबहादुर कुँवरले बताउनुभयो । ‘डिपिआर’समेत नगरी खनिएको घडेरीमा चाहिनेभन्दा बढी ढुङ्गा–माटो निकालिएपछि समस्या भएको उहाँले बताउनुभयो । उक्त नगर अस्पतालको निर्माणलाई अघि बढाउन अहिले पनि कुनै पहल भएको छैन । तत्कालीन सरकारले एक पालिका एक आधारभूत अस्पताल बनाउने निर्णयसँगै सुरु भएको अस्पताल निर्माणले गति नलिँदा स्थानीय चिन्तित बनेका छन् । नगरका प्रवक्ता अच्युत तिवारीले अस्पतालको काम अघि बढाउनेबारे कार्यपालिकामा छलफल भइरहेको जानकारी दिनुभयो । सोही ठाउँमा बनाउने वा अन्यत्र जग्गा व्यवस्थापन गरेर बनाउनेबारे आवश्यक निर्णय गरेर अघि बढ्ने तयारी भएको उहाँले बताउनुभयो ।

स्थानीय राजकुमार क्षेत्रीले अस्पताल बनाउने नाममा अनावश्यक खर्च गरिएको आरोप लगाउनुभयो । जमिनको भौगोलिक अवस्था कमजोर भएकाले अस्पताल बन्न नसकेको उहाँको भनाइ छ । केही जनप्रतिनिधिको स्वार्थका कारण अस्पताल बनाउने ठाउँ नै खण्डहरजस्तो बनेको उहाँको भनाइ छ । नगर अस्पताल निर्माणका लागि संघीय सरकारले रु १० करोड ६३ लाख विनियोजन भएको भए पनि काम हुन नसक्दा बजेट ‘फ्रिज’ हुने सम्भावना बढेको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट