खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर

  • मिसन संवाददाता
  • बुधबार, बैशाख ६, २०८० १४:४२
खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर

खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन् । बाक्सिलास्थित पृथ्वी माविमा सञ्चालन गरिएको सो शिविरबाट पाँच सय ३० पुरुष र पाँच सय ७२ महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । स्वास्थ्य शिविरबाट स्त्रीरोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नशारोग, हाडजोर्नी तथा नशा, छालारोग, नाक, कान, घाँटी, आँखा, दन्तरोग, मिर्गौला रोग, मुटुरोगलगायतका बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष समिर राईले जानकारी दिनुभयो । “गाउँपालिकाभित्रका सबै नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी वर्ष पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ ।” शिविरमा आवश्यक औषधिको व्यवस्था गाउँपालिकाले गरेको थियो । शिविरमा आउन तथा फर्किन गाउँपालिकाले सेवाग्राहीलाई बसको समेत व्यवस्था गरेका थियो । शिविर सञ्चालन गर्न काठमाडौँ मेडिकल कलेजबाट २६ चिकित्सकको टोली बाक्सिला आएको थियो । यसैबीच केपिलासगढी गाउँपालिकाका बिरामीले काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार गराउँदा छुट पाउने भएका छन् । गाउँपालिकाको आग्रहमा काठमाडौँ मेडिकल कलेजले केपिलासगढी गाउँपालिकाभित्रका नागरिकलाई सो अस्पतालमा पुगेर उपचार गराउँदा ५० प्रतिशत छुट दिने भएको हो । अस्पतालकातर्फबाट अध्यक्ष होमादेवी न्यौपाने, महाप्रबन्धक नारायणप्रसाद दाहाल, गाउँपालिकाका अध्यक्ष राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीबीचमा उपचार छुटलगायत सात बुँदे सम्झौता भएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, बैशाख ६, २०८० १४:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट