नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १४:४0
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अधिकृत, प्रहरी कर्मचारी, नेपाल एयरलाइन्सका कर्मचारी र ट्राभल एजेन्सी सञ्चालकहरु छन्।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

अपराध अनुसन्धान कार्यालयले बुधबार मात्रै थप ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल छन्।

पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् ।

त्यस्तै, एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका उनले जानकारी दिए।

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट