धरानका मेयर उपमेयर बैठकमै भिडे : वडाअध्यक्षहरु टुलुटुलु हेरेर बसे (भिडियो)

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १९:४४
धरानका मेयर उपमेयर बैठकमै भिडे : वडाअध्यक्षहरु टुलुटुलु हेरेर बसे (भिडियो)

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रबिक्रम बेघाबीच नयाँ चरणको द्वन्द्व सुरु भएको छ। १८ महिनायता प्रमुख साम्पाङलाई साथ दिँदै आएका उपप्रमुख बेघा आइतबार पहिलो पटक कड्किन पुगे। उनले आइतबार बसेको कार्यपालिका बैठकमा प्रमुख साम्पाङमाथि खनिए।

कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएको कुरा निकाल्दै आफ्नो भनाइ सुरु गरेका उपप्रमुख बेघाले आफ्नोबारे सार्वजनिक रुपमा गरेको टिप्पणीको पनि निन्दा गरेका छन्।

उक्त बैठकमा प्रमुख साम्पाङले केही समयअघि फेसबुकमा सेयर गरेको एउटा कन्टेन्टलाई लिएर आपत्ति जनाएका हुन्। आफूलाई विषालुको संज्ञा दिएको उक्त सामाग्रीलाई लिएर बेघाले आक्रोश पोख्दै आपत्ति जनाएपछि बैठक हलमै तनाव भएको हो।

‘तपाईले खेलाँची गरेको हो? किन त्यो कन्टेन्ट सेयर गर्नुभयो?’ उपप्रमुख बेघाले आक्रोशित मुद्रामा भने, ‘तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिड्नुस्।’

प्रमुख साम्पाङ र उपप्रमुख बेघाबीच बैठक हलमै चर्काचर्की भएपछि वडाअध्यक्षहरूले बोल्ने समय मागे। वडाअध्यक्षहरूले कार्यपालिका बैठकमै झगडा र विवादले धरानको बेइज्जत भएको गुनासो गरे।

केही महिना अघिसम्म प्रमुख र वडाध्यक्षहरूबीच चर्काचर्की हुँदा उपप्रमुख बेघाले मिल्न आग्रह गर्थे। तर आइतबारको कार्यपालिकामा भने वडाध्यक्षहरूले प्रमुख र उपप्रमुखलाई मिलेर अघि बढ्न सुझाए।

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १९:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट