नेपालका जनमुक्ति सेना : लेनिनको देशमा पुटिनका सिपाही

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १५:00
नेपालका जनमुक्ति सेना : लेनिनको देशमा पुटिनका सिपाही

रुसी सेनामा भर्ती भएका एक नेपाली युवाको स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको छ । तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेना समेत रहेको दाबी गरेका ‘डायमन्ड सी म्याग्देली’ नामक फेसबूक प्रयोगकर्ताले शृंखलाबद्ध स्टाटस लेख्दै देशमा व्याप्त कुशासनप्रति आक्रोश पोखेका छन् । साथै, परिवार पाल्नकै लागि विदेशिनुपर्ने बाध्यताका बीच स्वेच्छाले रुसी सेनामा भर्ती भएको समेत उनले उल्लेख गरेका छन् ।

‘हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमूल परिवर्तनका लागि बन्दुक बोकेर झण्डै १ दशक रगत/पसिना बगाइयो । अंशमा केही परिवर्तन त भयो, तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन । परिणामत: आज पनि सत्ता/शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पूँजीपतिहरूकै जगजगी छ । परिवर्तनका लागि दशकौं योगदान गरेका हजारौं योद्धाहरू आज परिवार पाल्नकै लागि विदेशका गल्ली-गल्लीमा भौँतारिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ,’ युक्रेनी भूमिबाट उनले लेखेको स्टाटसमा भनिएको छ । आफूले रुसी सेनाका लागि बन्दुक बोकेकोमा कुनै पछुतो नरहेको पनि उनले उल्लेख गरेका छन् ।

‘न हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ, न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीका रूपमा बन्दुक बोकेकोप्रति कुनै गुनासो छ । आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाइला-पाइलामा चुनौती त छ नै, यद्यपि हार कहिल्यै मानिँदैन । गन्तव्यमा पुग्ने दृढ आत्मविश्वास यथावत छ,’ उनले अगाडि लेखेका छन् ।

रुसी सेनामा भर्ती हुनका लागि सयौं नेपालीलाई म्यासेज गरिरहेको समेत उनले लेखेका छन् ।

‘सयौं साथीहरूले रसिया भर्ती हुन आउनुपर्‍यो, के-कसरी हो ? च्यानल मिलाइदिनुपर्‍यो भनेर म्यासेज गरिराख्नुभएको छ, एक-एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन, तसर्थ यसै सार्वजनिक सूचनामार्फत जानकारी- यहाँ अहिले भर्ती बन्द छ, दलालहरूको भ्रममा नपर्नुहोला,’ उनको स्टाटसको अन्तिममा भनिएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट