डलर अर्बपतिको नाम बेचेर भरत चौलागाईंको कमाउधन्दा : छोरासंग मिलेर डेढ करोड झ्वाम !

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १८:४९
डलर अर्बपतिको नाम बेचेर भरत चौलागाईंको कमाउधन्दा : छोरासंग मिलेर डेढ करोड झ्वाम !

आफूलाई देशकै प्रतिष्ठित व्यापारिक घराना तथा एकमात्र डलर अर्बपति बिनोद चौधरी र उनका छोरालाई पनि ठग्न सक्ने नेता भेटिएका छन् । सत्तारुढ नेपाली कांग्रेसको सांसदसमेत रहेका चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीका छोरा निर्वाणले आफ्नो डेढ करोड खाइदिएको भन्दै काँग्रेसकै एकजना युवा नेता ‘हारगुहार’मा निस्किएपछि घटना बाहिरिएको हो ।

सिजी कम्पनीका इलेक्ट्रिक सामानको डिलर मिलाइदिने भन्दै चौधरी ग्रुपको प्रवन्ध निर्देशकसमेत रहेका निर्वाणलाई डेढ करोड दिएका तरुण दलका केन्द्रीय सदस्य सौरभ केसी ठगिएका हुन् । यस घटनामा राजनीतिक पहुँच र प्रभाव देखाएर सर्वसाधारणलाई ठग्दै आएका रामेछाप कांग्रेसका नेता भरत चौलागाई पनि जोडिएका छन् ।

घटना २०७८ सालको हो । भरतमार्फत सौरभले ‘निर्वाणकुमार चौधरी’को नाममा २०७८ साल फागुन २३ गते एनएमबी बैंकको चेक काटेर रकम दिएका थिए ।

यता,कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका भरतविरुद्ध त्यस्तै अर्को ठगी मुद्दा प्रहरीमा उजुरी परेको छ । भक्तपुर चांगुनारायणको मुद्दा परेको जग्गा मिलाइदिने भन्दै ३ करोड ९२ लाख लिएर काम नगरेपछि घरजग्गा व्यवसायी सानुभाइ थापाले प्रहरी गुहारेका हुन् ।

थापालाई मोही तल्सिङ्गको केस मिलाई दिन्छु भनेर भरतले पैसा लिएका थिए । तर, भनेबमोजिम काम नभएपछि रकम फिर्ता मागेकोमा ३ करोड १२ लाख र ८० लाखको माछापुच्छ्रे बैंकको दुई वटा चेक दिएका थिए । उक्त चेक पटक-पटक बैंकको क्लियरिङमा हाल्दा खातामा पैसा नभएपछि बाउन्स भएको थियो । त्यसपछि चौलागाईविरुद्ध थापाले आज जिल्ला प्रहरी परिसर टेकुमा चेक बाउन्स र ठगीको जाहेरी दर्ता गराएका हुन् ।

आफू जग्गाको कारोबारी भएको र एउटा जग्गामा मोही र तलसिनको विवाद रहेकाले त्यो विवाद मिलाइदिन्छु भन्दै चौलागाईंले आफूसँग रकम लगेर विवाद पनि नमिलाइदिएको र रकम पनि फिर्ता नगरेको भन्दै थापाले प्रहरीमा जाहेरी दिएका हुन् ।

न्यायालयमा बिचौलियाको राज चल्ने गरेको कुरा सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले नै बोलेको छ । अदालतमा बिचौलिया छन् भन्ने अमूर्त भाषासहितको प्रतिवेदनले प्रधानन्यायाधीशकै भाइ अहिलेका ठूलो बिचौलिया रहेको भन्ने चर्चामा भने मौन बसेको छ । ठूला आर्थिक सरोकारका मुद्दामा भाइ प्रभुकै सेटिङ हुने गरेको चर्चा न्यायिक क्षेत्रमा व्यापक छ ।

सरकारी जग्गा अतिक्रमणदेखि १७ अर्ब सहकारीको रकम ठगी गर्ने सुधीर बस्नेतको बचाउमा पनि प्रभुकै नाम आउने गरेको छ । अदालतका बिचौलियाले मदिरामा नक्कली अन्तशुल्क स्टीकर टाँसेर राजश्व छली गर्नेलाई समेत मुद्दा जिताइदिन्छु भनेर घुस लिएको तथ्य पटक पटक उजागर भएकै छ ।

पर्साका धवलागिरी डिष्टीलरी र उदयपुर डिष्टीलरीले अन्तः शुल्कका नक्कली स्टीकर टाँसेर ३३ करोडको राजश्व अपचलन गरेको ठहर आन्तरिक राजश्व कार्यालय वीरगंज पर्साले गरेको थियो । त्यसविरुद्ध मदिरा कम्पनीका सञ्चालक ओमप्रकाश कलवारसहितका मदिरा उद्योगका सञ्चालकहरुले राजश्व न्यायाधीकरणमा मुद्दा दायर गरेका थिए । यो मुद्दामा राजश्व न्यायाधीकरणबाट जिताइदिन्छु भनी बिचौलिया भरत चौलागाईंले कलवारसहितका मदिरा उद्योगका सञ्चालकसँग करोडौं लिएका थिए । तर अदालतमा सेटिङ गरी नक्कली स्टीकर टाँस्ने उद्योगलाई जिताउने खेल भइरहेको समाचार सार्वजनिक गरेपछि राजश्व न्यायाधीकरणका न्यायाधीश विनोद शर्माले चौलागाईंको सेटिङ अनुसार फैसला गर्न सकेनन् ।

राजश्व न्यायाधीकरणबाट मुद्दा हारेपछि चौलागाईंसँग दिएको घुस फिर्ता माग्न गएका कलवारहरुलाई उनले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको र तास समेत खेल्ने गरेकाले सर्वाेच्चबाट जिताइदिन्छु भनी निस्साका लागि निवेदन दिन लगाएको स्रोतको दावी छ ।

निस्साको निवेदन परेपछि आफू अनुकूलको न्यायाधीशको इजलासमा नपरुञ्जेलसम्म मुद्दा सार्न लगाए । २०७८ साउन २२ गते आफूले भने अनुकूलको न्यायाधीशकोमा पेसी परेपछि निस्सा दिलाउन सफल भएका छन् । २०७८ साउन १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको वेञ्चमा परेको पेशी सारेर एक हप्तामै अर्काे पेशी राख्न लगाई २०७८ साउन २२ गते न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको वेञ्चबाट निस्सा दिलाएका छन् । नक्कली अन्तशुल्क स्टिकर राष्ट्रिय अपराध हो ।

राष्ट्रिय अपराध गर्ने उदयपुर डिष्टिलरी र धौलागिरी डिष्टीलरीलाई आन्तरिक राजश्व कार्यालयले गरेको कारबाहीलाई राजश्व न्यायाधीकरणले सदर गरिसकेको छ । अब सर्वाेच्चबाट राष्ट्रिय अपराध गर्ने नक्कली स्टीकर प्रयोगकर्तालाई मुद्दा जिताउन बिचौलिया भरत चौलागाईंले १३ करोडमा डिल गरेको स्रोत बताउँछ । प्रधानन्यायाधीशको नामको बद्नाम गर्दै नक्कली स्टिकरजस्तो राष्ट्रिय अपराध गर्नेलाई उन्मुक्ति दिलाउन लागेका छन् ।

भरत चौलागाईं अदालतका मुद्दा सेटिङ गर्दै करोडौं करोडका मालिक भइसकेका छन् । रामेछापको गुन्सी भदौरे घर भएका चौलागाईंले दीपकराज जोशी सर्वाेच्चमा हुँदा बिसौं करोडका सरकारी जग्गा व्यक्तिका नाममा कायम गराउँदै दशौं करोडका मालिक भइसकेका छन् । अदालतका खुंखार बिचौलिया भरत चौलागाईं रामेछापको कांग्रेसी राजनीतिमा प्रतिनिधि सभाकै टिकट दाबी गर्न थालेका छन् । रामेछापका प्रत्येक वडामा रहेका सरकारी विद्यालयका विद्यार्थीलाई ब्याग र ट्रयाकसुट वितरण गर्दै हिँडेका छन् ।

महासमिति सदस्य नेपाली कांग्रेस उल्लेख गरेका टिसर्ट, ट्रयाकसुट र स्कूल ब्यागहरु बितरण गर्ने अभियान नै चालिएको छ । नेपाली कांग्रेसमा वर्षाै दुःख गरेका, जेलनेल भोगेकाहरु भरत चौलागाईंजस्ता बिचौलियाको तडकभडकका सामु निरीह सावित भएका छन् । अर्बपति ठेकेदारका रुपमा चिनिएका पूर्णबहादुर तामाङ उर्फ कान्छारामसमेत चौलागाईंसँग पैसामा प्रतिस्पर्धा गर्न सकिएन भन्दै दिक्क मान्न थालेको चर्चा कांग्रेसीहरु नै गर्दैछन् । कान्छाराम यसअघि २०७४ मंसिर १० गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार थिए । २६ हजार बढी वामपन्थी भोटलाई काटेर उनी ५ हजार मतान्तरमा पराजित भएका थिए ।

चौलागाईंको प्रवेशले कान्छारामलाई सकस परेको कांग्रेसजनहरुकै भनाइ छ । चौलागाईंले नेपाली कांग्रेसमा तेस्रो धारको च्याँखे थापेर लाभ लिँदै आएका कृष्ण सिटौलालाई फन्डिङ गर्दै आएका छन् । उनले कृष्ण सिटौलाको कोटाबाट रामेछापमा प्रतिनिधिसभाको टिकट दाबी गर्न थालेको स्रोतले बतायो । सिटौलाको कोटामा यी बिचौलियाले टिकट पाए भने अचम्म नमाने हुन्छ, एक कांग्रेसका नेताले भने । सादा जीवन उच्च विचारको पक्षपाती बताउने सिटौलाले चौलागाईंजस्ता बिचौलियालाई च्याप्दा उनीसमेत बद्नाम हुँदैछन् भनेर साँघु साप्ताहिकले समेत छापेको थियो।

यस्तो छ नक्कली स्टिकर काण्ड

आन्तरिक राजस्व कार्यालय बीरगंज पर्साले पर्साको पोखरीया नगरपालिकामा रहेको जयश्री धवलागिरी डिष्टीलरी र उदयपुर डिष्टीलरीले अन्तशुल्क स्टीकरको हिनामिना र दुरुपयोग गरी करिब ३२ करोड राजस्व छली गरेको ठहर गरेको थियो । जयश्री धवलागिरी डिष्टीलरीले ५ करोड ४७ लाख ५९ हजार ७७३ रुपैयाँ अन्तशुल्क छली गरेको विवरण आन्तरिक राजस्व कार्यालय बीरगंजले निकालेको छ ।

उदयपुर डिष्टीलरीले २६ करोड १५ लाख ७० हजार ३४७ रुपैयाँ अन्तशुल्क छली गरेको ठहर आन्तरिक राजस्व कार्यालय २०७६ असोज ७ मा गरेको थियो । आन्तरिक राजस्व कार्यालय बीरगंजका तत्कालीन प्रमुख गोपीकृष्ण कोइरालाले ती दुई डिष्टीलरीले ३१ करोड ६३ लाख ३० हजार १४७ रुपैयाँ अन्तशुल्क छली गरेको फैसला गरेका थिए । आन्तरिक राजस्व कार्यालयका प्रमुख अन्तशुल्क हेर्ने अधिकारी पनि हुन् । अन्तशुल्क छली गर्ने जयश्री धवलागिरी र उदयपुर डिष्टीलरीले अन्तशुल्क अधिकारीले गरेको फैसलाबिरुद्ध राजस्व न्यायाधीकरण पुल्चोकमा २०७६ कात्तिक २० मा पुनरावेदन गरेका थिए ।

जयश्री धवलागिरी डिष्टीलरी र उदयपुर डिष्टीलरीका संचालक दाजुभाइ हुन् । जयश्री धवलागिरीका शम्भुशरणप्रसाद कलवार हुन् भने उदयपुर डिष्टीलरीका ओमप्रकाश कलवार हुन् । अन्तशुल्क अधिकारीले शम्भुशरणलाई बिगो, जरिवाना र बिलम्ब शुल्क गरी ५ करोड ४७ लाख ५९ हजार ७७३ रुपैयाँ असुलउपर गर्ने फैसला गरेको थियो । उक्त रकम नबुझाएमा मुलुकी फौजदारी संहिताको २०७४ को दफा १६४(२) बमोजिम जायजेथा गरी असुलउपर गर्नू, जायजेथा गर्दा पनि असुल नभएमा सोही ऐनको दफा १६४ को उपदफा ७ बमोजिम ७ बर्ष कैद संजाय हुने फैसला गरेको थिए ।

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १८:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट