माओवादीको बुढानिलकण्ठ नगर भेला सम्पन्न : प्रधानमन्त्रीद्वारा सम्बोधन

  • मिसन संवाददाता
  • शनिबार, पुस ७, २०८० १९:३९
माओवादीको बुढानिलकण्ठ नगर भेला सम्पन्न : प्रधानमन्त्रीद्वारा सम्बोधन

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बुढानिलकण्ठ नगर भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटित भेला कार्की इभेन्टमा सम्पन्न भएको हो । देशैभरको कार्यक्रम अन्तर्गत पर्सि ९ गते बुढानिलकण्ठका सबै वडामा वडा सम्मेलन हुनेछन । भेलामा सहिद परिवार तथा सामाजिक क्षेत्रमा स्थापित व्यक्तित्वलाई प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको दाबी गरेका छन्।

प्रचण्ड माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जस चाहिँ अरुहरुले लिएको बताए।

उनले भने, ‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु हाम्रै पालामा भएका छन्। मैले तीन पटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु। तर हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौं। विरोधीले पिठो बेचिरहेका छन्, हामीले चामल बेच्न पनि सकेनौं।’

प्रधानमन्त्रीले आफ्नो तीन वटै कार्यकालमा महत्वपूर्ण कामहरु भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताए।

उनले भने, ‘पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको सावा नै मिनाहा गरियो। पूर्व-पश्चिम, उत्तर-दक्षिण परियोजनाहरु अगाडि सारियो। विकासका ठूलठूला आयोजनाहरु सञ्चालनमा आए। प्रत्येक गाविसमा सहकारी निर्माण गरियो। दोस्रो कार्यकालमा उपत्यकामा लोडसेडिङको अन्त्य गरियो। अबको डेढ वर्षमा सिङ्गो देश नै उज्यालो हुने गरी काम गर्ने हो।’

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले जनतासँग माओवादी रूपान्तरण सशक्त ढङ्गले अघि बढिरहेको बताएका छन् । यो अभियानबाट निरन्तर जनतासँगको एकता, सहकार्यलाई निरन्तरता दिँदै पार्टी अघि बढिरहेको उल्लेख गरे । नेता शर्माले बागमती प्रदेशका तमाम समस्याप्रति सरकारको ध्यानाकर्षण गरेको पनि जानकारी गराए ।

उनले देशमा सङ्घीयता, समावेशी, समानुपातिक प्रणालीको एजेन्डा माओवादीले अघि बढाएर त्यसमा सफलता पाए पनि त्यसको स्वामित्व लिन माओवादी पछि परिरहेको जनताले बताइरहेको उल्लेख गरे । किसान, सबै क्षेत्रमा काम गर्ने जनताहरूले सबै क्षेत्रमा माओवादीका नेताहरू पुगेर त्यहाँका समस्याहरू समाधानका लागि अग्रसर हुन आग्रह भइरहेको उनले बताए ।

शर्माले भने– ‘हामीले ठुलो त्याग र बलिदानबाट रोपेको सङ्घीय गणतन्त्रको बिउबाट माओवादी आन्दोलनबाट जुन भूमिका निर्वाह भएको थियो, त्यो आन्दोलनलाई आज विकास गर्नुपर्ने आवश्यकता छ । हिजो रोपेको खेतीमा पर्याप्त समय दिन नसक्दा जनतामा देखिएको असन्तुष्टि माओवादी रूपान्तरण अभियानबाट त्यसमा मल जल गर्नुपर्छ भन्ने जनताको दृष्टिकोण छ । म प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु सरकारबाट पनि यो कुरा लागू गरिनेछ ।’

जनताले सुकुम्वासी अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न, रोजगारीको वातावरण बनाउन आग्रह गरेको बताउँदै सरकारले यसका लागि काम गर्ने आफूले विश्वास गरेको उनले बताए ।

काठमाडौँ सांस्कृतिक सहरलाई संरक्षण गर्न तिमीहरूको ध्यान पुगेन भनेर नेवार समुदायले भनेको बताउँदै यो अभियानबाट जनताको चाहना के छ भनेर थाहा पाइरहेको बताए । नेवार, तामाङ, मगर समुदायले आज तिमीहरू कहाँ हरायौ भनेर प्रश्न गरिरहेको बताउँदै उनले जनतासँग माओवादी रूपान्तरण सशक्त ढङ्गले अघि बढिरहेको उल्लेख गरे ।

अभियानका नगर इन्चार्ज, बागमती प्रदेशका पुर्व वन तथा वातावरणमन्त्री विशाल खड्काले बुढानिलकण्ठका जनताले संघिय सांसदलाई सयमा एक नम्बर पनि दिन नमानेको बताए । खड्काले पशुपतिनाथ जतिकै महत्वको बुढानिलकण्ठलाई ब्राण्ड बनाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरे । उक्त क्षेत्रमा खोला र सुकुम्बासीको मुख्य समस्या रहेको बताउदै यथाशिघ्र समाधान गर्न पनि प्रधानमन्त्रीलाई अपिल गरे ।

https://fb.watch/p6DYnTsO8-/ 

  • मिसन संवाददाता
  • शनिबार, पुस ७, २०८० १९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट