इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण आगामी मार्चमा २३ तारिखदेखि सुरु हुँदैछ । विश्व चर्चित यो फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि मंगलबार ‘अक्सन’ (खेलाडी खरिद प्रक्रिया) हुँदैछ ।
खेलाडी ‘अक्सन’ कार्यक्रम दुबईमा हुँदैछ । आईपीएलको इतिहासमा पहिलोपटक खेलाडी ‘अक्सन’ कार्यक्रम भारतबाहिर गर्न लागिएको हो । ‘अक्सन’ कार्यक्रम नेपाल समयअनुसार, १ :१५ बजे सुरु हुने बताइएको छ । आगामी आईपीएलमा सहभागी हुने १० वटै टोलीले ‘अक्सन’ मार्फत आफूले रुचाएका खेलाडी खरिद गर्नेछन् ।
आगामी आईपीएलका लागि विश्वभरका एक हजार एक सय ६६ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्ये भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ‘अक्सन’ का लागि तीन सय ३३ जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको थियो ।
‘अक्सन’ कार्यक्रममा अधिकतम ७७ जना खेलाडीमात्र खरिद गर्न पाइने छ । ‘अक्सन’ मा खरिद गर्न पाइने अधिकतम ७७ मध्ये विदेशी खेलाडीको सङ्ख्या ३० रहेको छ । यसपटक ‘अक्सन’ मा सहभागी हुने १० वटा टोलीले कूल दुई अर्ब ६२ करोड ९५ लाख भारतीय रुपैयाँ खर्च गर्न पाउने छन् ।
त्यसमध्ये गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद, कोलकाता नाइट राइडर्स र चेन्नइ सुपर किङ्ग्स गरी चारवटा क्लब ३०–३० करोड भारतीय रुपैयाँभन्दा बढी रकम बोकेर ‘अक्सन’ मा सहभागी हुनेछन् ।