धितोपत्र बोर्डका हाकिमको सम्पति छानबिन हुने

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० 0९:४७
धितोपत्र बोर्डका हाकिमको सम्पति छानबिन हुने

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न संसदीय समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकले बिहीबार बोर्डका अध्यक्ष हमालले आर्थिक चलखेल गरी अवाञ्छित गतिविधि गरेको भन्दै उनको सम्पत्ति छानबिन गर्न विभागलाई भनेको हो ।

हमालले पदीय रूपमा अवाञ्छित र अपारदर्शी काम गरेको पनि बैठकको निष्कर्ष छ । धितोपत्र बजारको सुधार सम्बन्धमा समितिले धितोपत्र बोर्ड र बिमा समितिलाई विभिन्न १० बुँदे निर्देशन पनि जारी गरेको छ ।

हमालको सक्रियतामा परिमार्जन गरिएका धितोपत्रसम्बन्धी आधा दर्जनभन्दा बढी नियमावली सम्बन्धित निकायबाट स्वीकृत भए पनि नेपाल राजपत्रमा प्रकाशित नभएकामा पनि समितिले प्रश्न उठाएको छ ।

प्रिमियम मूल्यमा सेयर जारी गर्ने समयावधि ३ वर्षबाट २ वर्षमा झारिनु, नियमावलीका व्यवस्था संशोधन गर्दा सरोकारवालासँग विस्तृत छलफल नगरिनुजस्ता अभ्यासले नियामक निकायका कामकारबाहीमाथि प्रश्न उठेको समितिले जनाएको छ ।

समिति बैठकमा बिहीबार अध्यक्ष हमाललाई बोलाइएको थियो । बैठकमा उनी उपस्थित नभएकामा पनि समितिले खेद व्यक्त गरेको छ । समितिको कार्यसूचीमाथि छलफल गर्न आमन्त्रण गरिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल बिनासूचना/बिनाजानकारी समितिमा अनुपस्थित रहेको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको निर्देशनमा उल्लेख छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० 0९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट