काठमाडौं। ट्रंक र डेडिकेटेड लाइनको विवाद मिलाइदिन भन्दै उद्योगीहरूले प्रधानमन्त्री भेटेपछि नेपाल विद्युत् प्राधिकरण थप आक्रामक बनेको छ। प्राधिकरणले थप १३ वटा उद्योगको लाइन काटिदिएको हो। शुक्रबार मात्रै व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए।
प्राधिकरणले बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेट प्लास्ट र बुटवल सिमेन्टको लाइन काटेको हो।
शुक्रबार दिउँसो उद्योगीहरूले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेर ट्रंक र डेडिकेटेडलाइनको समस्या समाधान गर्न माग गरेका थिए। उद्योगीहरूलाई दाहालले ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिएकाले बक्यौता तिर्नुपर्ने स्पष्ट पारेका थिए। तर नलिएकाहरूले बक्यौता तिर्नु नपर्ने बताएका थिए। यो समस्या समाधानका लागि आवश्यक परे उच्चस्तरीय न्यायिक समिति बनाउन समेत तयार रहेको बताएका थिए।
सोमबारदेखि लाइन जोडिने आशाका साथ उद्योगी प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका थिए। तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राजनीतिक नेतृत्वलाई रिझाएर बक्यौता मिलाउन खोजेपछि थप आक्रामक भएर लाइन काटेका हुन्।
प्राधिकरणले गएको शुक्रबार १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा कम्पनीको लाइन काटेको थियो। भने आइतबार ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका ५ वटा कम्पनीको लाइट काटेको थियो। अहिलेसम्म प्राधिकरणले २२ वटा कम्पनीको लाइन काटिदिएको छ।
घिसिङले उद्योगीलाई किस्ताको सुविधा लिएर बक्यौता तिर्न र चित्त नबुझे पुनरावेदनमा जान दुई वटा विकल्प समेत दिएका छन्।
कसको कति बक्यौता
प्राधिकरणका अनुसार बाबा जुट मिल्सको ५ करोड ६१ लाख ४९ हजार, निगाले सिमेन्टको १४ करोड २० लाख ८४ हजार रुपैयाँ, त्रिवेणी सिन्थेटिकको १५ करोड ६५ लाख ५७ हजा रुपैयाँ, हिमाल आइरन एण्ड स्टिलको ८ करोड १२ लाख ७३ हजार रुपैयाँ बक्यौता छ।
यस्तै, जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख २८ हजार , हामा आइरनको ११ करोड ५५ लाख ४६ हजार रुपैयाँ, एभरेस्ट पेपर मिल्सको २१ करोड ३५ लाख ७७ हजार रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ।
कसमस सिमेन्टको ३५ करोड ८१ लाख ९४ हजार रुपैयाँ, शुभश्री अग्नि सिमेन्टको ३८ करोड लाख ३४ हजार, जगदम्बा सिन्थेटिकको ४७ करोड ५३ लाख ४१ हजार रुपैयाँ, घराना फुड्सको ५ करोड ९२ लाख ९ हजार रुपैयाँ, सिद्धार्थ पेट प्लास्टको ५ करोड २३ लाख ८२ हजार रुपैयाँ र बुटवल सिमेन्टको ३२ करोड ९७ लाख ८३ हजार रुपैयाँ बक्यौता छ।