पूर्वराजालाई पूर्वपञ्चभन्दा मेयर उठेका पूर्वकमरेड प्यारा

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १३:२0
पूर्वराजालाई पूर्वपञ्चभन्दा मेयर उठेका पूर्वकमरेड प्यारा

पूर्वराजा ज्ञानेन्द्र शाहले पुसको आधाभन्दा बढी महिना बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित राजावादीहरूको भेटघाटमा बिताए । भैरहवामा राजावादीले आयोजना गरेको अभिनन्दन समारोहमा भाग लिने बहानामा पुस ८ गते बुद्ध एयरको नियमित उडानबाट भैरहवा ओर्लिएका ज्ञानेन्द्रको पुस २२ मा बुद्ध एयरको चार्टर्ड विमानबाट वीरगञ्ज फर्किने कार्यक्रम थियो । हुस्सु लागेर एयरपोर्ट नखुलेपछि उनी सडक मार्ग हुँदै गन्तव्यतिर लागेका छन् । पूर्वराजाका समर्थकले बुटवल—नारायणगढ सडकमा जनताले भोगेको सास्तीको अनुभव गर्न ज्ञानेन्द्र सडकमार्ग हुँदै गएको व्याख्या गरे ।

पुस ८ गतेदेखि २३ गतेसम्म भैरहवाको अञ्चलपुरस्थित पाँच तारे होटल सिद्धार्थ भिलासाको प्रतिदिन डेढ लाख रूपैयाँ पर्ने सभा हलसहितको भवनमा अड्डा जमाए । रूपन्देही, नवलपरासी र कपिलवस्तुका धार्मिक स्थल भ्रमण गरे, राजावादी तथा अन्य स्वतन्त्र खालका मान्छे बोलाएर भलाकुसारी गरे । भैरहवाको गल्लामण्डीमा नागरिक अभिनन्दन थापे । पुस १९ मा राजतन्त्र समर्थकको उपस्थितिमा गल्लामण्डीमा आयोजित एक समारोहमा समितिका संयोजक डा.रामप्रसाद बस्यालबाट अभिनन्दन ग्रहण गरे । त्यसअघि कपिलवस्तुको चन्द्रौटामा पृथ्वीनारायण शाहको शालिक अनावरण गरे, बर्दघाट र बुटवल नीलकण्ठधाम मन्दिरको दर्शन गरे ।

१६ दिनको बसाइ अवधिमा पूर्वएमाले नेता डा.बस्यालले उनलाई सरकार सरकार भन्दै साथ छाडेनन् । गत स्थानीय निर्वाचनताका सिद्धार्थनगरमा मेयरका उम्मेदवार बस्याल मत परिणाममा तेश्रो भएपछि एमालेसँग चिढिँदै गएका थिए । २०४५ सालमा पनि तत्कालीन बडामहारानी ऐश्वर्यको सवारी चलाउन भूमिका निर्वाह गरेका उनी बहुदल आएपछि एमालेमा सक्रिय भए । उनी एमालेभित्र इमान्दार कार्यकर्ता मानिन्थे । अभिनन्दन समितिको संयोजकबाट राजीनामा दिन एमाले नेताहरू घरमै पुगेर आग्रह गर्दा पनि नमानेपछि जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पार्टीबाट निष्कासित गरिएको विज्ञप्ति जारी गरेका छन् ।

डा. बस्यालले अरु एमाले नेता–कार्यकर्तासमेत तान्ने आशंका गरिए पनि त्यस्तो देखिएन । पूर्वराजालाई भेट्न एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा बुटवल उपमहानगर इञ्जार्चसमेत रहेका गोपाल राना भने लुम्बिनी प्यालेस भिलेज छपियामा पुगेका थिए । पुस १४ को भेटमा नेता राना पूर्वराजा ज्ञानेन्द्रलाई सरकार, सरकार भन्दै कुरा गरिरहेका थिए । राना एमाले उपाध्यक्ष विष्णु पौडेलका खास मान्छे हुन् । राजावादीले ज्ञानेन्द्रलाई राजाकै रूपमा संबोधन गरे पनि एमाले नेताहरूले सरकार, सरकार भनेर बोल्दा भने असहज देखिएको थियो । भैरहवा बसाइका क्रममा पूर्व राजा ज्ञानेन्द्र छपियाको लुम्बिनी प्यालेसमा दुई पटक पुगेका थिए । पूर्वराजकुमार पारससमेत भैरहवा आए पनि उनले बाबु—आमा र श्रीमतीसँग भेटेनन् । पारस एमाले नेता गोपाल रानाको ड्रिमल्याण्ड रिसोर्टमा दुई दिन बसेर फर्किएका थिए ।

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले नै डा. बस्याललाई संयोजक राख्न सिफारिस गरे । तर, राप्रपा महामन्त्री धवलसमशेर राणा, पश्चिमाञ्चल संयोजक प्रदीप उदय, पूर्वमन्त्री निरञ्जन थापालगायतले राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणालाई बनाउन सिफारिस गरे पनि ज्ञानेन्द्रले नमानेको बताइन्छ । आफूलाई नपत्याएपछि सागरज्ञानेन्द्रको कार्यक्रममा खासै सहभागी भएनन् । यस क्षेत्रका राप्रपा नेतासँग ज्ञानेन्द्रको होटल निर्वाणामा सामूहिक भेटपछि फोटो खिच्न अनुरोध गर्दा कति खिच्नु भनेर नमानेपछि नेताहरूले ‘राजतन्त्रको मुद्दा हामीले बोक्ने, हामीलाई नै उपेक्षा गर्ने’ भनी मुखामुख गरेका थिए ।

यसबीच पूर्वराजालाई भारतीयले नेपाल नरेश भनेर व्याख्या गरिरहेका छन् । यतिसम्म कि भैरहवामा भेट्न आएका पत्रकार मनोजकुमार त्रिपाठीले त ज्ञानेन्द्रको खुट्टा नै छोएको जनआस्थाले समाचारले लेखेको छ।

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट