काम गरेको पैसा नपाएपछि चुकेनी विद्युत् आयोजनाको डोजर स्थानीयको कब्जामा

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १८:५९
काम गरेको पैसा नपाएपछि चुकेनी विद्युत् आयोजनाको डोजर स्थानीयको कब्जामा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी जलविद्युत आयोजनामा काम गरेको रकम नपाएपछि स्थानीयले डोजर कब्जामा लिएका छन् । आयोजना निर्माणका क्रममा गिट्टी कुटेको, दैनिक ज्यालादारी काम गरेको, पसलबाट सामान लिएको, स्थानीयको खसी खाएको पैसा नपाएपछि डोजर कब्जामा लिएका हुन् ।

पातारासी–१ स्यालागडी गाउँका २५० घरधुरीले आयोजनास्थलमा काम गरेका थिए । गडीगाउँका महिलाले रकम नपाएको भन्दै दसैँको समयमा आयोजना निर्माणस्थलमा ढुंगामुढासमेत गरेका थिए । त्यतिबेला थोरै रकम दिएको तर त्यसपछि क्रमशः दिन्छु भन्दै ठेकेदारले ढाँटेको स्थानीयले बताएका छन् । आयोजना निर्माणको लामो समयसम्म पैसा भुक्तान नगरेपछि स्थानीले डोजरको चाबी थुतेको वडाध्यक्ष लालसिंह ऐडीले बताउनुभयो ।

ठेकेदारले आयोजनास्थलमा काम गर्न आएका मरको रासनपानी स्थानीय व्यापारीबाट लिएका थिए । उदारो खाएको रकमसमेत लामो समयसम्म नपाएपछि स्थानीले डोजर कब्जामा लिएको चुकेनी सहकारी संस्थाका सदस्य जयबहादुर ऐडीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ठेकेदारले मेरो पसलबाट उदारो लिएको ९२ हजार रुपैयाँ दिएका छैनन् । डोजर नसमाती भुक्तानी पाउने सम्भावना नदेखेपछि सबै गाउँलेको सहमतिमा डोजरको साँचो खोसिएको हो । डोजर लिन आउँदा पनि ठुलै द्वन्द्व हुने देखिन्छ ।’

चुकेनी जलविद्युत आयोजनाको ठेकेदारले पैसा आजआज भोलिभोलि भन्दै चार वर्ष धकेलेको स्थानीय बुद्धिबहादुर ऐडीले बताउनुभयो । लामो समय हुन्जेल पैसा पाएनौँ । त्यसैले हामीले भन्दा पनि हाम्रा महिलाले ठेकेदारबाट पैसा असुल्न डोजर जफत गरेको उहाँको भनाई छ ।

पढ्ने केटाकेटीहरूले कापी कलम गरौँला, महिलाले घरखर्च चलाउँला भनेर आस गरी हातका औँला फुटालेर, रगत निकालेर गिट्टी कुट्दाको पीडा ठेकेदारले नबुझेपछि गाउँले डोजर खोस्न बाध्य भएको स्थानीय पटे ऐडीले बताउनुभयो ।

स्थानीयका अनुसार ठेकेदार कम्पनीले करिब ३० देखि ४० लाखसम्म तिर्न बाँकी रहेको देखिन्छ । ठेकेदार कम्पनीलाई चाँडै कामदारको रकम भुक्तानी गर्न लगाउने र डोजर पनि फिर्ता गर्न लगाउने गरी लागेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णासिंह बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो,‘ठेकेदार र कामदार, गाउँले, वडाध्यक्ष सबैलाई सँगै राखेर छलफल गराई पैसा भुक्तानी गर्नलाई पहल गर्नेछौँ । त्यसपछि डोजर फिर्ता गर्न लगाउनेछौँ । धेरै हदसम्म ठेकेदार कम्पनीको लापरबाही गरेको देखिन्छ ।’

यता मेगा हाइड्रो एण्ड इन्जिनियरिङका प्रबन्धक तथा ठेकेदार चन्द्र क्षेत्रीले अन्तिम भुक्तानी प्राप्त नभएका कारण स्थानीयको खाएको र कामदारको पैसा नतिरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आठ लाख दसैँमा तिरेको हो । महिलाले गिट्टी कुटेको १४ लाख बाँकी छ । अन्य पसल र स्थानीयको ६/७ लाख गरी बढीमा २५ लाखसम्म मात्रै दिन बाँकी छ ।’

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट