मधेस आन्दोलनको १७ वर्ष पुरा : आज बलिदान दिवस !

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १0:४0
मधेस आन्दोलनको १७ वर्ष पुरा : आज बलिदान दिवस !

मधेस प्रदेश सरकारले आज छैटौँ बलिदानी दिवस मनाउँदै छ। अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले आज छैटौँ बलिदानी दिवस मनाउन लागेको हो।

आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन्।

विसं २०६२÷०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो।

माघ २ गतेदेखि सुरु भएको सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो । यसपछि मधेसभर आन्दोलन भएको थियो।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो।

सो आन्दोलनलाई मधेसवादीहरुले मधेस जनविद्रोहको सङ्ज्ञा दिने गरेका छन् । त्यही जगमा देशमा सङ्घीयता र संविधान आएको जनाउँदै मधेस प्रदेश सरकार गठन भएदेखि नै यहाँ सहिदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो।

त्यसयता विसं २०७४ सम्म पटकपटक भएका मधेस आन्दोलनमा एक सय १७ जनाको ज्यान गएको मधेसवादी दलहरुले दाबी गर्दै आएका छन् तर मधेसी सहिद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२ घाइते भएको तथ्याङ्क छ। बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट