प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १२:४९
प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन– नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई आज बिहान स्वदेश फर्किनुभएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू, नेपाल सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायतले स्वागत गर्नुभएको थियो । 

प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई सम्बोधन गर्दै असंलग्न आन्दोलनले आपसी सद्भाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरिरहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले पर्वतीय देश नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको र त्यहाँ बसोबास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको विषयलाई सम्मेलनमा राख्दै हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री प्रचण्डले शिखर सम्मेलनको अवसरमा मित्रराष्ट्र श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँगको भेटमा सार्कलाई गतिशील तुल्याउन दुवै देशले साझा पहलकदमी लिने बारेमा समेत छलफल भएको जानकारी दिनुभयो । 

असंलग्न राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनले अन्तिम दस्ताबेज कम्पाला घोषणापत्र र प्यालेस्टाइन सम्बन्धी घोषणापत्र पारित गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

प्रधानमन्त्री  प्रचण्ड यही माघ ४ गते असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको थियो । 

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा सम्पन्न भएको हो ।

 नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै शिखर सम्मेलनमा सक्रियरूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १२:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट