कञ्चनपुरमा शनिवार केही घण्टाको अन्तरालमा प्रहरीले दुई पत्रकारलाई पक्राउ गरेपछि उनीहरुलाई छुटाउन चर्को दबाब परेको छ । माउन्टेन टेलिभिजनका पुष्कर भट्ट र निगरानी खबर तथा आवाज कुञ्ज पत्रिकाकी ऐश्वर्या कुवरलाई छुटाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दबाब परेको हो ।
शुक्रवार नै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले शनिवार बिहान भट्टलाई र दिउँसो कुवरलाई पक्राउ गरेको थियो । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा र प्रहरी निरीक्षक बिनु शाहीविरुद्ध भट्ट र कुँवरले व्यक्तिगत रूपमै मान मर्दन हुने गरी स्टाटस लेखेको प्रहरीको दाबी छ ।
विद्युतीय कारोबार सम्बन्धी मुद्दा दायर गर्दा प्रहरी प्रमुख र प्रहरी निरीक्षकबीच लगाइएको आरोपहरूलाई प्रहरीले आधार बनाएको छ । केही समय अघि भट्टले प्रहरी प्रमुखलाई कमल थापा र प्रहरी निरीक्षक बिनु शाहीलाई बिनु थापा भनेर स्टाटस लेखेका थिए । केही समय पछि उनले शाही हुनुपर्नेमा थापा भएको भन्दै त्यसलाई सच्चाए ।
प्रहरी उपरीक्षक थापा र प्रहरी निरीक्षक शाहीलाई लिएर मान मर्दन हुने गरी स्टाटस र कमेन्ट गरेपछि भट्ट विरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
कुँवरलाई पनि त्यस्तै आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कुवरले ‘कञ्चनपुरमा लैला मजनुको मिडियामार्फत धोती खुस्किने भएपछि लैला बचाउमा मजनुको रस्सी कस्सी ’ लेखेकी थिइन् । प्रहरीले यसमा पनि आपत्ति जनाएको छ ।
सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुने गरी स्टाटस लेखेको उजुरी आएपछि पक्राउ पुर्जी लिएर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
यी दुई पत्रकारले प्रहरी निरीक्षक बिनु शाहीलाई एसपी कमल थापाकी प्यारीजस्ता आपत्तिजनक र व्यक्तिगत लान्छानायुक्त शब्दहरु प्रयोग गरेर स्टाटस शेयर तथा समाचारहरुमा समेत त्यस्ता शब्द प्रयोग गरेको आरोप छ ।
विशेषगरी प्रहरी निरीक्षक बिनुको चरित्र हत्या गर्ने र उनलाई परपुरुषसँग जोडेर आरोपित गरेपछि साइबर क्राइम आकर्षित भएको हो । प्रहरी निरीक्षक शाहीमाथि यातनाको आरोप लगाएको भिडिओ पत्रकार पुष्कर भट्टले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका थिए।
त्यसपछि निरन्तर उनले प्रहरी निरीक्षक शाही र जिप्रका कञ्चनपुरका प्रमुख एसपी कमल थापाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। पत्रकार कुँवरले पनि प्रहरी निरीक्षक शाही र जवान नाथको विवादलगायत प्रहरीविरुद्धको समाचार फेसबुकमा निरन्तर साझा गरिरहेकी थिइन्।
यसैबीच कञ्चनपुर प्रहरीले विज्ञप्ति जारी गरेर नाथको आरोपको खण्डन गर्दै भ्रमपूर्ण समाचार र स्टाटस नलेख्न चेतावनी दिएको थियो। त्यस्तो लेखेको पाएमा प्रचलित कानुनबमोजिम सजाय हुने प्रहरीको विज्ञप्तिमा उल्लेख थियो।