जनार्दन र वर्षमानलाई बिदा गर्ने तयारी

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १४:२२
जनार्दन र वर्षमानलाई बिदा गर्ने तयारी

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू हेरफेर गर्न लागेको छ। साउन अन्तिम साता माओवादी रुपान्तरण विशेष अभियानका लागि बनाइएका इन्चार्ज मंगलबार बसेको स्थायी समिति बैठकबाट हेरफेर गर्न लागिएको हो।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको स्थायी समिति बैठकमा नयाँ इन्चार्ज प्रस्ताव भएको हो। माओवादीले १० प्रदेश संरचनाको अभ्यास गरिरहेको छ। कोशीमा हरिबोल गजुरेल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम आजको बैठकमा प्रस्ताव भएको छ ।

यसैगरी विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने प्रस्ताव बैठकमा पेश भएको छ।

माओवादीभित्र पार्टी संगठनमा बलियो पकड भएको भनिएका जनार्दन शर्मा र वर्षमान पुनलाई इन्चार्जको भूमिकाबाट बिदा गर्ने तयारी गरिएको छ । यसअघि अभियानको क्रममा जनार्दन बागमती प्रदेश र वर्षमान विशेष प्रदेशको इन्चार्जको भूमिकामा थिए । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निकट भारतको प्रवास कमिटीको इन्चार्ज पदको जिम्मेवारी अस्वीकार गरेका छन् ।

सत्तागठबन्धन घटक नेकपा (माओवादी केन्द्र) का नेताहरूले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनमा बारे आ-आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् । राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई दिने चर्चाबीच माओवादी स्थायी कमिटी नेताहरूले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजनालगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाका अनुसार बैठकमा कांग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धन नगर्ने गगनको प्रतिवेदनबारे पनि नेताहरूले प्रतिक्रिया दिएका छन् ।

सापकोटाले भने, ‘हामीले प्रस्तुत सबै एजेण्डामा वृहत् छलफल गर्‍यौं । राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र, त्यस सम्बन्धमा चाहीँ अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले चाहीँ राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ ।’

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट