पुल्चोकमा क्याम्पस प्रमुखको हस्ताक्षर किर्ते : एउटै वक्तृत्वकलामा ३ जना प्रथम ?

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १७, २०८० २१:४५
पुल्चोकमा क्याम्पस प्रमुखको हस्ताक्षर किर्ते : एउटै वक्तृत्वकलामा ३ जना प्रथम ?

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा क्याम्पस प्रमुख कै हस्ताक्षर गर्दै दुरुपयोग हुने गरेको पाईएको छ । स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागी नै नभएका प्रतियोगी सुबोध गैह्रे र सुजिता शर्मा दुवैलाई प्रथम बनाएर राखिएको प्रमाणपत्र स्ववियु सदस्य रसिक लम्सालले स्ववियुको कार्यकक्षबाट जफत गरेपछि घटना बाहिरिएको हो।

घटनाको विवरण सार्वजनिक गर्दै लम्सालले भनेका छन् यदि तपाई स्ववियु अध्यक्षको नजिकको मान्छे हुनुहुन्छ भने तपाईको पनि प्रमाणपत्र बन्न सक्छ ।

जफत हुँदाको घटनालाई यसरी खुलाएका छन् :
मिति २०८० साल फागुन १६ गतेका दिन स्ववियु अध्यक्ष द्वारा स्ववियुको बैठक बोलाइएकाले समय अगावै म स्ववियु हल पुगेँ। पुगे पश्चात अध्यक्षको कार्यकक्ष भित्र छिरे र त्यहाँ बसी रहनु भएको स्ववियु प्रतिनिधीसँग सामान्य कुराकानी भयो। त्यतिकैमा मेरो नजर अध्यक्षको टेबलमा राखिएको दुई सर्टिफिकेटमा गयो। सर्टिफिकेट थियो स्ववियुले मंसिर अन्तिम साता आयोजना गरेको वक्तृत्व कला प्रतियोगिताको। उक्त प्रतियोगिताका सम्पुर्ण विजेता हरुलाई सोही दिन पुरस्कार एवम् सर्टिफिकेट प्रदान गरिसकिएको थियो। यो कुरा ध्यानमा राख्दै सर्टिफिकेट पढ्दै जादाँ मेरो दिमागले विस्तारै काम गर्न छोड्यो। किन? किनकि त्यो सर्टिफिकेटमा प्रथम स्थान हासिल गरेको भनि दुई व्यक्तिहरुको नाम थियो (सुबोध गैर्हे र सुजिता शर्मा)। यी दुवै जना यस्ता व्यक्ति थिए जसले प्रतियोगिता जित्नु त टाढाको कुरा प्रतियोगितामा सहभागीता समेत जनाएका थिएनन्। भएन यस्तो त भनेर म अध्यक्षको कार्यकक्षबाट निस्किए, एक्लै त्यो प्रमाणपत्र जफत गर्दा भन्दा स्ववियुका प्रतिनिधि नै साक्षी राखेर जफत गर्दा आधिकारिक हुन्छ भनेर त्यस बखत स्ववियु हलमा उपस्थित स्ववियु सदस्य श्री सुदिपकाजि बस्नेत र श्री स्वयंम श्रेष्ठलाई अध्यक्षको कार्यकक्षमा बोलाएर मैले ती दुबै प्रमाणपत्र जफत गरे। जफत गरे पश्चात स्ववियु बैठकमा नै यो कुरा उठाए र बैठकमा अध्यक्षको तर्फबाट यो बनाए पनि कतै दुरुपयोग त भएको छैन नि भन्ने गैर जिम्मेवार उत्तर आयो। त्यस पश्वात बैठकमा यस विषयमा अरु केही कुरा भएन।

आज मिति २०८० साल फागुन १७ गते करिब पौने १ बजे तल राखिएको पत्र सहित म क्याम्पस प्रमुख सँग सत्यतथ्य छानविन र दोषीलाई कारबाहीको माग लिएर भेट्न गएँ। कुराकानीको क्रममा क्याम्पस प्रमुखले त्यो आफ्नो हस्ताक्षर नै नभएको भनेर मेरै सामु आफ्नो आधिकारिक हस्ताक्षर देखाउनु भयो। अनि, त्यस पश्वात हस्ताक्षरको प्रकृति हेर्दा प्रमुख निर्णायकको हस्ताक्षर पनि आधिकारिक नभएको जस्तो मानेँ । स्ववियुको लोगो छ, क्याम्पसको लोगो छ, क्याम्पस प्रमुखको हस्ताक्षर छ तर फर्जी, निर्णायकको पनि हस्ताक्षर छ तर फर्जी ( सावित भइनसकेको), प्रमाणपत्रमा नाम यस्ता व्यक्तिको छ जसले प्रतियोगितामा भाग पनि लिएको छैन। यो क्रममा मेरो मथिङ्गल नराम्रोसगँ हल्ली सकेको थियो। कसरी सकेको होला यस्तो गर्न ? कसरी हिम्मत आएको होला यस्तो जघन्य अपराध गर्न?

देशकै उत्कृष्ट प्राविधिक क्याम्पसमा क्याम्पस सुधार्छु भनेर चुनावमा उठेका मान्छेहरुले आफ्नो इमान बेचेर यति तल सम्म गिर्छन् भन्ने कल्पना मैले गरेको पनि थिइन। आज यो लेख्दै गर्दा पनि मलाई म पनि यस्तो स्ववियुको सदस्य छु भन्ने कुरा सम्झिदा लज्जावोध भइरहेको छ।

हस्ताक्षर किर्ते गर्नु, फर्जी प्रमाणपत्र बनाउनु अनि आफ्नो पदीय जिम्मेवारी एवम् शक्तिको दुरुपयोग गर्नु निकै नै ठुलो अपराध हो। यस्तो किसिमको जघन्य अपराधमा संलग्न जो सुकै भए पनि कानुनको दायरमा ल्याउन म यसै पोस्ट मार्फत सार्वजानिक रुपमा माग राख्दछु। के थाहा आज प्रमाणपत्र बेच्नेले भोली क्याम्पस र पछि देश नै नबेच्लान् भन्न सकिन्छ र ?

लम्सालले सम्पूर्ण विवरण सार्वजनिक गरेपछि स्ववियुकै उपाध्यक्ष गौरव भट्टराईले अध्यक्ष यो विषयमा अनविज्ञ रहेको भन्दै खण्डन प्रकाशित गरेका छन् । भट्टराईको खण्डनलाई पनि खण्डन गर्दै लम्सालले फेरि अर्को प्रष्टीकरण लेखेका छन् । उनले फेरि लेखेका छन् :

१) प्रयोगमा नआउने कागज संसारभर कतै पनि कार्यकक्षको टेबलमा राखिँदैन।
२) नाम लेखेको बनावटी काहानी बनाए पनि हस्ताक्षर किर्ते गरेको बारेमा बोल्न पर्दैन? क्याम्पस प्रमुखको हस्ताक्षर मन लागेको बेलामा अभ्यास गर्दै हिड्ने चीज हो?
३) स्ववियु अध्यक्ष प्रश्न उठेपछि सधैँ अनविज्ञ नै हुन्छन्, त्यो ठुलो कुरै भएन।
४) स्ववियुको राम्रो कामको कहिले विरोध भएछ, हेरौँ त। बुदा सहित यो कार्यमा यो अवरोध भयो भन्ने सुन्न पाए धन्य हुने थिएँ। पहिला पहिला कार्यकक्ष सञ्चालन हुन पर्छ, बैठक नियमित राखौँ, आर्थिक कारोबार माइन्युटिङ विना नगरौँ, intertech को नाममा ८५ हजार दिन हुँदैन, अखिलको स्ववियु काउन्सिललाई के के जाति registration शुल्कको नाममा पैसा दिनु हुँदैन भनेर भनेका कुरा हरु अवरोध गरेको जस्तो लागेको भए, माफ गर्नु होला म कसैले हुन्छ भन् भने हुन्छ भन्ने र नबोल् भने चुप लागेर बस्ने कसैको Yesman होइन। स्ववियुले नराम्रो गर्दा भोट हालेका एक एक विद्यार्थीले सराप्नेछन् भन्ने मलाई राम्रो सँग थाहा छ। अनि स्ववियु असफल हुनु भनेको म पनि असफल हुनु हो भन्ने पनि ज्ञान छ।
अनि अन्तिम कुरा मिटिङ सक्केर सामान्य कुरा हुदाँ केटाहरुले के गरेछन् गरेछन्, तिमी certificate लिएर पढ्दा म त के grammatical error भएछ जस्तो मानिराको थिएँ भनेर भनेको कसले रहेछ कुन्नी??
अनि, कुरो र कुलो जता मोड्यो त्यतै मोडिन्छन्। सत्य भण्डाफोर भयो भनेर अत्तालिनुको सट्टा सुध्रिएर अगाडि बढ्ने प्रण गरौँ।



  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १७, २०८० २१:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट