सरकारको आलोचना नगर्न ओलीको निर्देशन

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० १६:५३
सरकारको आलोचना नगर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।

साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन् ।

ओलीले भने, ‘म साथीहरूलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,।’

“पहिले पहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ । ठूला–ठूला गल्ती उहिलेको कुरा हो,” उनले भने, “अहिले प्रधानमन्त्रीले राम्रो काम गर्नुभएको छ । एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभएको छ ।”

उनले प्रधानमन्त्रीले देश अफ्ठ्यारोमा पर्‍यो भन्ने आत्मसाथ गरेर सकारात्मक कदम चालेको बताए । ओलीले देशलाई अस्थिरतातर्फ जानबाट जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिए । “दिल खोलेर । मनको कुनामा कुनै हिचकिचाहट नराखेर विश्वासको मत दिन्छौँ,” उनले भने, “विश्वास छ भन्ने पक्षमा मतदान गछौँ । यो पार्टीको तर्फबाट आदेश, निर्देश हो ।”

ओलीले अहिले अरु कुनै विकल्प नभएको बताए । कि त प्रचण्ड नेतृत्वको समीकरणले जित्ने वा नेपाली कांग्रेसको अल्पमतको सरकार बन्ने अवस्था रहेने बताए । त्यसैले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिए ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट