श्रीमती फकाउन नसकेपछि रेशमले लेखे : अरे लाटी, लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो !

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० 0८:४७
श्रीमती फकाउन नसकेपछि रेशमले लेखे : अरे लाटी, लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो  !

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको राजनीतिक विवाद फेसबुकमा छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ ।

यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमले फेसबुकमा लेखेका छन् । ‘म उनलाई (रन्जितालाई) सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका छन् ।

जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशमले लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।’

रन्जिताको अनुपस्थितिमा सोमबार कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जिताले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन् ।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा भने रेशमको सहमतिमा नाउपाका मन्त्री नियुक्त भएका छन् । कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुन नहुने रन्जिताको मत छ ।

पार्टीभित्रको यो विवाद घर झगडा नभई राजनीतिक विषय भएको रेशमको भनाइ छ । रेशम सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनको पछाडि लाग्न नहुने पक्षमा छन् ।

रन्जिता भने प्रचण्डले नाउपाका नेता-कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने पक्षमा छिन् ।

आफूहरुप्रति प्रचण्डको सहानुभूति भए पनि कसैको कृपाले नाउपाका नेता-कार्यकर्ताहरु रिहा नभएको रेशमले उल्लेख गरेका छन् । बरु दुई लाख ७८ हजार जनताको भोटको बलमा टिकापुर घटनामा बन्दीहरु रिहा भएको र रन्जिता पनि मन्त्री बनेको रेशमको भनाइ छ ।

रेशमले लेखेका छन्, ‘उनको (रन्जिताको) भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौं र तिमी पनि मन्त्री भएकी हौ ।’

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० 0८:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट