आफ्नै पार्टी उपाध्यक्षलाई कारबाही गर्दै प्रचण्ड सरकार

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १२:५२
आफ्नै पार्टी उपाध्यक्षलाई कारबाही गर्दै प्रचण्ड सरकार

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

आइतबार बिहान गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

सचिवालयका अनुसार गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको आयोगको प्रतिवेदनले दोषी करार गरेका माओवादी उपाध्यक्ष महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । आयोगको सिफारिस अनुसार नै महरामाथि कारबाही अघि बढाउन गृहमन्त्री लामिछानेले प्रहरीलाई निर्देशन दिएका हुन् । यसअघि आयोगले महरासँग बयान पनि लिएको थियो । यो संगै माओवादी नेतृत्वको सरकारले आफ्नै पार्टी उपाध्यक्षलाई कारबाही गर्न लागेको हो ।

पूर्वसभामुख महराका कान्छा छोरा राहुल महरा सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा राहुललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट