सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम दिउँसो २ बजे सार्वजनिक गरिने

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ६, २०८० 0९:५४
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम दिउँसो २ बजे सार्वजनिक गरिने

सत्ता गठबन्धनमा आबद्ध दलहरूको साझा न्यूनतम कार्यक्रम आज दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ ।

आजै बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कार्यक्रम सार्वजनिक गर्ने तय थियो । समय परिवर्तन गरेर दिउँसो २ बजे मात्र कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी गराएको छ ।

यसअघि, हिजो नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनिएको थियो । गएको शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो ।

सरकारमा सहभागी पाँच दलबाट दुई/दुई नेता कार्यदलमा थिए । कार्यदलमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल थिए । नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा थिए ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल थिए । जनता समाजवादी पार्टी (जसपा)बाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनीष सुमन थिए । नेकपा (एकीकृत समाजवादी)बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल थिए ।

यसलाई गठबन्धनका पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् । अहिलेको शिथिलता, विदेश पलायन, उत्पादन र देशको मौजुदा अवस्थालाई कार्यक्रममा प्राथमिकता दिइएको बताइएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ६, २०८० 0९:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट