‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ ११:२४
‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताउनुभयो । “गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौँ”, उहाँले भन्नुभयो, “घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको हो ।” तोकिएको मितिमा आठपटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एक कुखुराको भाले दिने गरिएको हो । संस्थागत सुत्केरी हुनेलाई सङ्घीय सरकारले यातायात खर्चवापत रु दुई हजार र गर्भपरीक्षण गर्नेलाई थप रु आठ सय उपलब्ध गराउने गरेको छ । अन्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो । पाँच वडा रहेको मङ्गलामा वार्षिक ७०–८० जनाको अनुपातमा संस्थागत सुत्केरी हुने गरेका छन् । कुहुँ, अर्मन र बरङ्जा स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध छ । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन् । चालु आर्थिक वर्ष २०७९÷८० मा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । कार्यक्रमबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताउनुभयो । गर्भवती, सुत्केरी र बच्चाको स्वास्थ्य, पोषण, आहरा र सरसफाइमा जागरण ल्याउन कार्यक्रमले सहयोग पुगेको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट