नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल करोडौँ भ्रष्टाचारमा तानिए

  • मिसन संवाददाता
  • बिहिबार, साउन २५, २०८० १६:३६
नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल करोडौँ भ्रष्टाचारमा तानिए

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भएको अनियमिततालाई लिएर पौडेलमाथि अख्तियारको छानबिन गरेको हो । उनीमाथिको केश क्रिटिकल देखिएको र अदालतमा मुद्धा दर्ता गर्नुपर्ने आधार भेटिएको स्रोतले बतायो ।

पौडेललाई २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका संचारमन्त्री गोकुल बास्कोटाले केन्द्रको कार्यकारी निर्देशक बनाएका थिए । पौडेलकै कार्यकालमा केन्द्रले पेमेन्ट गेटवेको लागि २०७५ साल असार २९ गतेभित्र काम सक्ने गरी २०७५ असार १९ गते एक आपूर्तिकर्तासँग २४ करोड २७ लाख ८० हजार रुपैयाँको खरिद सम्झौता भएको थियो ।

केन्द्रले आर्थिक वर्ष २०७७÷७८ मा २३ करोड २७ लाख ५८ हजार भुक्तानी गरेको थियो ।  १ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान भएको पुँजीगत कार्यक्रममा १५ टुक्रा बनाएर खरिद गुरुयोजनाविनै बोलपत्रको माध्यमद्वारा १ अर्ब ६१ करोड ७५ लाख ८ हजार रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रले बोलपत्रको माध्यमबाट इन्टरप्राइज स्टोरेज डिभाइस आपूर्ति तथा जडान, नेटवर्कको स्तरोन्नति, लाइसेन्स अफ इन्टरप्राइज इमेल सेक्युरिटी सफ्टवेयर आपूर्ति तथा जडान, डेस्कटप कम्प्युटर, ल्यापटप लगायत सामाग्री खरिद गर्न २०७७÷०७८ मा १५ प्याकेजको सम्झौतामध्ये ११ खरिद प्याकेजमा कुल लागत अनुमान १ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ रहेकोमा १ अर्ब ६२ करोड १६ लाख रुपैयाँमा सम्झौता गरेको थियो । कुलमध्ये ६ प्याकेजमा १÷१ र ५ प्याकेजमा २÷२ वटा कम्पनीको मात्र बोलपत्र पेश गर्न लगाएर मिलेमतो गरेका थिए ।

सूचना प्रविधि क्षेत्रका ठूला ठेक्कामा संलग्न हुँदै आएका पौडेल विवादित व्यक्ति हुन् । कोभिडका बेला मेडिकल सामग्री खरिदमा अनियमिततामा मुछिएको विवादित ओम्नी समूहसँग ९ सयभन्दा बढी सार्वजनिक विद्यालयमा आइटी ल्याब स्थापना गर्ने खरिद मुद्दामा पनि पौडेल जोडिएका थिए ।

  • मिसन संवाददाता
  • बिहिबार, साउन २५, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट