माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने : जनार्दन शर्मा

  • मिसन संवाददाता
  • आइतवार, साउन २८, २०८० ११:३0
माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने : जनार्दन शर्मा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी संगठनमा उथलपुथल हुने खुलासा गरेका छन् ।

माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने उनले खुलासा गरेका हुन् । शनिवार पार्टीको सहायक संगठन वाइसियल नेपालको मथ्यपुर थिमि नगर सम्मेलनलाई थिमि ब्याङ्क्वेटमा सम्बोधन गर्दै पार्टीका प्रभावशाली नेता शर्माले भने, ” मूल्यांकन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्यांकन गरेर नेता चुन्ने बिधि बसालिन्छ ।”

कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने बताउदै सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुने र अध्याधिक मत ल्याउने क्रमागत उम्मेदवारहरु निर्वाचित हुने नेता शर्माले जानकारी गराएका छन् । त्यसपछिका केही निश्चित उम्मेदवार क्रमस बैकल्पिक नेता बन्ने समेत उनले बताएका छन् ।

तत्कालिन जनयुद्धका कमान्डर समेत रहेका पूर्व मन्त्री शर्माले जनयुद्धबाट प्राप्त उपलब्धीलाई हल्कारुपले हेर्न नहुनेमा जोड दिए । सामन्ती एकात्मक राज्य व्यवस्थाले कविता बाचन गर्दा, कथाका किताब साथमा राख्दा पक्राउ गरी जेलनेलको यातना दिने बिगत स्मरण गर्दै उनले व्यवस्था बदल्न हज्जारौ शहिदले बगाएको रगत भुल्न नहुने स्पष्ट पारे । नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्यावासी दिनुपर्ने उनले दावी गरेका छन् ।

वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको भन्दै पूर्वमन्त्री समेत रहेका पार्टीका प्रदेश इन्चार्ज शर्माले अब फेरि जनताले व्यवस्था परिवर्तनको लागि राज्यसँग लड्नुपर्ने अवस्था नरहेको जानकारी गराए । ”अब अबैधानिक बाटो हिड्नुपर्दैन, बैधानिक बाटोबाटै समाजवादमा पुग्न संविधानले दिशानिर्देश गरेको छ ।” उनले भने ।

कार्यक्रममा पूर्वमन्त्री एवं पार्टीका प्रदेश इन्चार्ज शर्माले आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, बिकास र सम्वृद्धिको पक्षमा साहसिक र ऐतिहासिक कार्य गरेपनि त्यसलाई प्रचार गर्न नसकिएको गुनासो गरे । पार्टी विरोधीहरुले फैलाएका भ्रम र अफवाहहरुको प्रतिरोध गर्न उनले निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य डिपी ढकाल त्यसैगरी केन्द्रीय सदस्यद्वय प्रतिमा श्रेष्ठ र इन्दिरा अधिकारी एवं प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ र जिल्ला संयोजक सुनिल बासुले समसामयिक राजनीतिक प्रशिक्षण प्रदान गरेका पार्टीका मध्यपुर थिमि नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठले बताए ।

शनिवार सम्पन्न वाइसिएलको दोश्रो मध्यपुर थिमि नगर सम्मेलनबाट सजन प्रजापतिको अध्यक्षतामा पैतालिस सदस्यीय कार्यसमिति निर्वाचित भएको वाइसिएलको भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले जानकारी गराएका छन् । कार्यक्रममा वाइसिएलका बागमती प्रदेश इन्चार्ज, त्यस्तै केन्द्रीय सचिव दिनेश थपलिया आक्रोश, केन्द्रीय सदस्यहरु गोमा आले, राजु कुटु, बेदप्रसाद खरेल लगायत प्रदेश र जिल्लाका नेताहरु समेतको आतिथ्यता रहेको जिल्ला अध्यक्ष सरराज उप्रेतीले जनाएका छन्

  • मिसन संवाददाता
  • आइतवार, साउन २८, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्