१ लाख बढी अवैध स्मार्ट लाइसेन्स जारी धन्दामा यातायात व्यवस्था विभागमा कार्यरत आधा दर्जन प्राविधिक मुछिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको समाचारको सन्दर्भमा स्वास्थ्यलाईभमा प्रकाशित समाचार तथा हाम्रो मिसनमा ‘१ लाख भन्दा बढी नक्कली लाईसेन्स बेचेर खाने को-को हुन् ?’ शिर्षक राखेर साभार गरिएको समाचारमा खण्डन प्राप्त भएको छ ।
कर्मचारीहरु श्रीचन्द्र शाह, पवित्र डंगोल, राज कुमार महर्जन, केशबराज गौतम, सुरज प्रकाश अर्याल, कपिला श्रेष्ठ थैब, भानुभक्त जोशीले खण्डन प्रकाशन गर्नका लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो बारेमा विभाग छोडेको महिनौ भैसक्दा (क.ई. भानुभक्त जोशी हाल कार्यरत) तथा विद्युतीय सुशासनको क्षेत्रमा निश्वार्थ भावनाले वर्षौदेखि अहोरात्र कार्य गर्दा समेत हामीलाई आरोपित बनाउने भाष्य निर्माण गरी चरित्र हत्या गर्ने समेत प्रयोजनार्थ समाचार प्रकाशित भएकोप्रति हाम्रो ध्यानकर्षण भएको छ। केही समय अगाडि अर्को एउटा अनलाइन पत्रिका स्वास्थ्य लाइभले यही व्यहोरा छापेको र अहिले यस मिडियाबाट समेत हुबहु (अक्षर समेत फरक नपरेको) यही समाचार आउनु सँयोग मात्र हो भन्न सकिदैन । यसका साथै उक्त न्यूज पोर्टलको होमपेजमा उक्त समाचार नरहेको तर माथिको लिन्कमा मात्र रहेको र सामाजिक सँजालमा सेयर भइरहेको विषय निन्दनीय छ ।’
उनीहरुले विभिन्न निकायहरुबाट यस सम्बन्धमा छानबीन भैरहेकोमा छानबिनको निष्कर्ष नआउञ्जेलसम्म वास्तविक तथ्य बुझी मात्र समाचार लेख्न समेत अनुरोध गरेका छन् ।
निज कर्मचारीहरुको तर्फबाट प्राप्त खण्डनलाई यहाँ हुबहु प्रकाशित गरिएको छ :
श्री चन्द्र साहका तर्फबाट
१. फोटो सहित लेखः
खण्डनः विषय वस्तुको गम्भिरतालाई ध्यान नदिई Publicity का लागि मात्र ध्यान दिई व्यक्तिगत चरित्र हत्या गर्ने प्रयोजनार्थ मेरो सहमति बिना मेरो फेसबुक एकाउण्टबाट फोटो लिई लेखिएको समाचार प्रति मेरो घोर आपति रहेको छ।
२. तत्कालीन सूचना प्रविधि निर्देशक पवित्र डंगोल बयानका लागि आएपनि श्रीचन्द्र साह बयानका लागि उपस्थित नभएको प्रतिवेदनमा उल्लेख छ ।
खण्डनः आफू सरकारी कामको सिलसिलामा धुलिखेल जाँदै गरेकोमा साँगा पुग्न लाग्दैको करिब विभागको कम्प्युटर ईन्जिनियर बरालजीले भोलि मिटिङ्ग छ सर आउनुहुन फोन गरेकोमा म त धुलिखेल कार्यक्रममा जाँदैछु भोलि आउन सकिन्न भन्दै बितिकै निजले एकाएक फोन राखेको । मिटिङ्गको विषयको बारेमा न जानकारी न सो सम्बन्धमा पुनः फोन न अरु साथी जस्तो मलाई पत्र प्राप्त नभएको अवस्थामा बयानका लागि उपस्थित नभएको भन्नी कदापि मिल्दैन।
जबकि यातायात व्यवस्था विभागका महानिर्देशक श्री उद्दव रिजालज्यूले मिति २०८० पुष ४ गते बुधवार स्मार्ट कार्ड सम्झौताको बारेमा बुझ्नु छ भोलि आउनु बेलुका भन्ने बितिकै त्यसको भोलिपल्ट पुष ५ गते बिहिवार १०:४५ विभागमा म पुगेका थिए । त्यही छलफलका आधारमा सोही दिन बेलुका नयाँ अन्तराष्ट्रिय बोलपत्रको दोस्रो संशोधन सूचना समेत प्रकाशन भएको थियो।
३. स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार अवैध लाइसेन्स जारी भएको अवधिमा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखामा सूचना प्रविधि निर्देशकको पदमा श्रीचन्द्र साह र पवित्र डंगोल कार्यरत रहेका थिए । कम्प्यूटर ईन्जिनियरको पदमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैव, सन्तोष पोखरेल र सुरज प्रकाश अर्याल कार्यरत रहेका थिए।
खण्डन : अवैध लाइसेन्स जारी भए नभएको, भएको भए कहिलेदेखि भएको र सो कार्यमा को को संलग्न थिए बारे छानबिनकै क्रममा रहेकोले निर्क्यौल गरिहाल्न नमिल्ने। पुनश्चः लाइसेन्स जारी गर्ने कार्य तथा अधिकार प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयको हो र विभागमै कार्यरत रहेकै कारणले बिना प्रमाण कसैलाई आरोपित बनाउन खोज्नु कुनैपनि दृष्टकोणले मिल्दैन।
४. अवैध लाइसेन्स जारी धन्दामा मुछिएका उपसचिव साह २०७५ साउन २९ देखि २०७७ जेठ २९ सम्म यातायात व्यवस्था विभागमा कार्यरत रहेका थिए । त्यसपछि अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग हुँदै उनी २०७९ साउन ११ गते पुन: यातायात व्यवस्था विभागमा पुगेको देखिन्छ । सूचना प्रविधि निर्देशक साह विभागमा झन्डै १ वर्ष बसेपछि अहिले अर्थ मन्त्रालय पुगेका छन् । अध्यागमन विभाग कार्यरत रहँदा उनको बदमासी खुलेपछि विभागका तत्कालीन महानिर्देशकले गृहसचिव महेश्वर न्यौपानेलाई कि मेरो सरुवा गर्नु होस् कि सूचना प्रविधि निर्देशक साहको सरुवा गर्नुहोस् भनेर अडान राखेपछि उनको १ वर्ष नपुग्दै वैदेशिक रोजगार विभागमा सरुवा भएको थियो । त्यहाँबाट १ वर्षपछि साह दोहोर्याएर यातायात व्यवस्था विभाग पुगेको देखिन्छ ।
खण्डनः अवैध लाइसेन्स जारी सम्बन्धमा विभिन्न अनुसन्धान निकायहरुबाट छानबिन भैरहेको अवस्थामा बिना प्रमाण म विभागमा कार्यरत रहेकै नाताले अवैध लाइसेन्स जारी धन्दामा मलाई आरोपित बनाउन खोज्नु कदापि मिल्दैन। साथै लाइसेन्स जारी गर्ने कार्य तथा अधिकार प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयको हो तथा लाइसेन्स जारी सम्बन्धी काममा मेरो कही संलग्ता नहुने भएकोले मेरो नाम अनाहक जोडी तथ्यरहित तथा भ्रामक समाचार प्रकाशित गर्नु वर्षौदेखि लगनशीलता तथा अनुशासित रुपमा नथाकी अहोरात्र खटी गरी गरेको कामको अवमूल्यांकन तथा मेरो चरित्रहत्या गर्नु हो। अध्यागमन विभागमा कार्यरत रहँदा कुन र के प्रकारका बदमासी मैले गरेको प्रमाण नै उल्लेख नगरी कल्पोकल्पित, तथ्यरहित, भ्रामक समाचार लेख्न मिल्दैन । जबकि मैले सबभन्दा कम समयमा अध्यागमन विभागमा डिप्लोमेटिक मोडयुल र ट्रेकिङ्ग मोडयुल लगाउनुका साथै एकीकृत नेपालीपोर्ट बनाउन लगाई सञ्चालनमा ल्याएको । साथै भिसा स्टीकर सिस्टमबाट जारी गर्ने कार्य समेतको तयारी गरिएको।म तहाँ छँदा सम्पादन गरेको कार्यहरुको बारेमा अध्यागमन विभागका तत्कालिन कर्मचारीहरुलाई सोध्दा घाम जस्तै छर्लङ्ग हुन्छ।
मेरो अर्थ मन्त्रालयमा सरुवा भएको करिब ७ महिना पुग्न लाग्यो ।
वैदेशिक रोजगार विभागमा राम्रो काम गर्दा गर्दै एकाएक अचानक मेरो इच्छा विपरीत यातायात व्यवस्था विभाग सरुवा भएको थियो। गएदेखि नै मेरो सरुवा अन्यत्र गरी दिनुपर्यो भने कयौ पटक संघीय मामिला तथा सामान्य मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न पदाधिकारीहरु र मेरै विभागको तत्कालिन महानिर्देशकज्यूहरुलाई अनुरोध गरेका थिएँ। यातायात व्यवस्था विभागमा जम्मा १० महिना दोस्रो पटक कार्यरत रहेका थिए।
५.२०५५ बैशाख २६ गते व्यवस्थापिका संसद सचिवालयमा कम्प्युटर अधिकृतको नियुक्ति लिएका साह, लोकसेवा आयोग, भन्सार विभाग जस्ता अड्डा बसेका थिए । २०६८ चैत्र ११ गते कम्प्युटर अधिकृतबाट कम्प्युटर निर्देशकमा बढुवा भएपछि उनी भूमिसुधार तथा व्यवस्थापन विभागमा पदस्थापन भएका थिए । उक्त विभागमा ४ वर्ष बसेपछि उपसचिव साह निर्वाचन आयोग हुँदै साढे २ वर्षपछि यातायात व्यवस्था विभाग पुगेको देखिन्छ । अख्तियारलाई बुझाइएको छानबिन प्रतिवेदन अनुसार अवैध लाइसेन्स जारी धन्दाको सुरुवातकर्ता तत्कालीन सूचना प्रविधि निर्देशक साह रहेको खुल्न आएको छ ।
खण्डनः अवैध लाइसेन्स जारी भए नभएको, भएको भए कहिलेदेखि भएको तथा त्यसमा को को संलग्न थिए? विषय अनुसन्धानकै क्रममा रहेकोले विभागमा कार्यरत रहेकै कारणले बिना प्रमाण मलाई लाइसेन्स धन्दाको सुरुवातकर्त्ता भन्नी दोष लगाउनु खोज्नु सरासर पाप तथा मेरो प्रतिको खराब नियत हो र यस्ता कपोलकल्पित, मनगढन्ते, भ्रामक र तथ्यहिन समाचार प्रति मेरो घोर आपति छ। मेरो विभिन्न निकायहरुमा भएको सरुवा तथा पदस्थापन निजामती सेवा ऐन र नियमानुसार नै सम्बन्धित मन्त्रालयले गरेको हो र सरुवा पश्चात कुनै पनि खराब नियत नराखी प्रत्येक निकायमा मैले आफ्नो बेस्ट दिने हरदम प्रयास गरेको हो। यातायात व्यवस्था विभागमा म रहँदा गरेको सुधारको बारेमा अधिकांश यातायात कार्यालयहरु र विभागका कर्मचारीहरु जानकार छ। मेरै समयमा हाल सञ्चालनमा भएको १ थान मास प्रिण्टर, १0 लाख र पुनः १२ लाख स्मार्ट कार्ड विवादरहित खरिद भएको थियो ।त्यही प्रिण्टर हालसम्म धानी रहेको अवस्था छ। विदेश जानेको हकमा अर्जेन्ट लाइसेन्स निवेदन दिएको दिनको दोस्रो दिनदेखि नै निवेदन रुजु भएको अवस्थामा विभागको हेल्प डेस्कबाट वितरण गर्ने व्यवस्था होस् वा लाइसेन्स लिनका लागि पटक-पटक विभाग आउनु नपरोस भनेर अनलाइन अर्जेन्ट प्रिण्टिङ्ग निवदेन दिने व्यवस्था होस् सम्बन्धी सुधारको काम गरिएको। दोस्रो पटक अचानक मेरो सरुवा यातायात व्यवस्था विभाग भएको जसले गर्दा करिब १ महिना म आफै डिप्रेशन मै गए सकेको थिएँ । किनकि वैदेशिक रोजगार विभागमा फेमिस प्रणालीमा गरिएको सुधारले वैदेशिक रोजगार कार्यालय ताहाचल लगायत अन्य कार्यालयमा फेसलेस सेवाको शुरुआत र इजरायलमा केयर गिभर छनौट, तालिम र अन्य व्यवस्थापनमा मेरो महत्वपूर्ण योगदान हुँदाहुँदै एकाएक मेरो इच्छा विपरीत सरुवा भएको थियो । जुन वैदेशिक रोजगार विभाग र कार्यालयको साथै इजरायल राजदुतावासका पदाधिकारीहरु समेतबाट बुझ्न सकिन्छ। यति मात्र होइन कम्प्युटर अधिकृतमा छँदा भन्सार विभाग र कार्यालयमा गरेको आशिकुडा प्रणालीको विस्तार तथा कार्गो मोडयुल लागू र ब्रोकर तथा सेलेक्टिभिटी मोडयुलहरु लागू कार्य लगायत स्वचालनको क्षेत्रमा मैले गरेको काम होस् वा सूचना प्रविधि निर्देशक भई भूमिसुधार तथा व्यवस्थापन विभागमा छँदा विश्वास नहुने मालपोत क्षेत्रमा अनलाइन सेवाको शुरुआत होस्, २०७४ को सबै निर्वाचनमा सूचना प्रविधि प्रणालीको मार्फत मैले गरे वा गराएको काम होस् वा अध्यागमन विभागमा गरेको काम वा वैदेशिक रोजगार विभाग वा अन्य निकायमा मैले गरेको काम होस् गएर बुझ्न अनुरोध गर्दछु।
पुनश्चः म सामान्य गाउँको मध्यवर्गीय सम्पन्न परिवारको इमान्दार, कर्तव्यनिष्ट र अनुशासित ब्यक्ति हो। मैले आफ्नो जागिरको २५ वर्षमा रहँदै गर्दा आजसम्म अनाहक यस्तो बदनामी कहिल्यै भएको थिएन। म जहाँ गए आफ्नो कामले आफूलाई चिनाए। त्यो कुरा म जहाँ बसे ती प्रत्येक निकायमा गएर बुझ्दा हुन्छ। तर यसरी बिना क्रस चेक गरी आफ्नो Publicity का लागि यस्तो गलत, तथ्यरहित, कल्पोकल्पित तथा भ्रामक समाचार प्रकाशितले गर्दा आज म धेरै नै मर्माहित र दुखी छु। विभिन्न निकायहरुको अनुसन्धान नसकिदै यसरी मेरो बारेमा निष्कर्षमा पुग्नु ठीक हो ? र यो मर्यादित पत्रकारिता भित्र पर्छ र? भोलि गलत साबित भएमा मेरो जुन बेइज्जती तथा सामाजिक क्षति भएछ के फिर्ता हुन्छ वा फिर्ता गराइ दिनु हुन्छ यहाँले? कृपया यसको बारेमा गहन अध्ययन तथा मेरा पीडा बुझी दिनुहुन अनुरोध छ। तपाईले आरोप लगाए अनुसार भोलि अनुसन्धान निकायले समेत मलाई दोषी प्रमाणित गर्ने भए मलाई हदैसम्म (जागिरबाट बर्खास्त मात्र नभईकन स्वेच्छाले मृत्युवरण ग्रहण गर्न तयार)कारवाही होस् जोडदार माग गर्दछु।
श्री पवित्र डंगोलका तर्फबाट
1. फोटो सहितको लेख
खण्डन: उक्त फोटो सहित लेखमा विषय वस्तुको गम्भिरतालाई ध्यान नदिई Publicity का लागि मात्र व्यक्तिगत चरित्र हत्या गर्ने प्रयोजनार्थ लेखिएकोमा मेरो घोर आपति रहेको।
2. स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार अवैध लाइसेन्स जारी भएको अवधिमा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखामा सूचना प्रविधि निर्देशकको पदमा श्रीचन्द्र साह र पवित्र डंगोल कार्यरत रहेका थिए । कम्प्यूटर ईन्जिनियरको पदमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैव, सन्तोष पोखरेल र सुरज प्रकाश अर्याल कार्यरत रहेका थिए।
खण्डन : अवैध लाइसेन्स जारी भए नभएको विषय छानबिनमै रहेकोले निर्क्यौल गरिहाल्न नमिल्ने।
3. छानबिन समितिले विभागको सूचना प्रविधि शाखामा विगतमा कार्यरत सबै प्राविधिक कर्मचारीहरुलाई बयानका लागि बोलाएको खुल्न आएको छ ।
खण्डन : विभागले मलाई बयानका लागि नभई छलफल गर्नुपर्ने भनि मौखिक अनुरोधको आधारमा छलफलको लागि विभागमा गठित समितिमा सहभागीको लागि गएको ।
4. महर्जन र डंगोलको सञ्चार मन्त्रालयमा निकै खासखुस चल्ने गरेको चर्चा सुनिन्छ ।
खण्डन : कपोलकल्पित, मनगढन्ते, भ्रामक र तथ्यहिन भएको ।
5. डंगोल पनि अहिले अवैध लाइसेन्स जारी धन्दामा मुछिएका छन् ।
खण्डन : कपोलकल्पित, मनगढन्ते, भ्रामक र तथ्यहिन भएको । अवैध लाइसेन्स जारी भए नभएको विषय छानबिनमै रहेकोले निर्क्यौल गरिहाल्न नमिल्ने।
श्री राज कुमार महर्जनका तर्फबाट
१. मेरो सहमति बेगर मेरो फोटो छापेकोमा गम्भीर आपत्ति रहेको ।
२. स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार अवैध लाइसेन्स जारी भएको अवधिमा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखामा सूचना प्रविधि निर्देशकको पदमा श्रीचन्द्र साह र पवित्र डंगोल कार्यरत रहेका थिए । कम्प्यूटर ईन्जिनियरको पदमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैव, सन्तोष पोखरेल र सुरज प्रकाश अर्याल कार्यरत रहेका थिए
खण्डन : अवैध लाइसेन्स जारी भए नभएको विषय छानबीनमै रहेकोले निर्क्यौल गरिहाल्न नमिल्ने ।
३. छानबिन समितिले विभागको सूचना प्रविधि शाखामा विगतमा कार्यरत सबै प्राविधिक कर्मचारीहरुलाई बयानका लागि बोलाएको खुल्न आएको छ ।
खण्डन : विभागले मलाई बयानका लागि नभई छलफल गर्नुपर्ने भएकाले भनी पत्राचार गरिएको ।
४. २०७० साल साउन २९ गते कम्प्युटर इन्जिनियरमा नियुक्ति लिएर त्यसको १ दिनपछि यातायात व्यवस्था विभाग पुगेका राजकुमार महर्जनले ५ वर्ष बढी एकछत्र राज गरेका थिए ।
खण्डन : मैले २०७० साउन २७ गतेको नियुक्ति लिएको र २०७० साउन ३१ गते यातायात व्यवस्था विभाग हाजिरी भएको र ५ वर्ष एकछत्र राज गरेका भन्ने भाष्य मनगढ्न्ते र अतिरन्जित रहेको ।
५. महर्जन विभागमा हुँदा जनकपुर यातायात कार्यालयबाट ट्रायल फेल भएका ३ जना व्यक्तिले सेतीबाट लाइसेन्स निकालेर ल्याएपछि त्यो बेला आफू आश्चर्यमा परेको विभागका तत्कालीन एक निर्देशकले स्वास्थ्य लाइभलाई सुनाएँ
खण्डन :सवारी चालक अनुमतिपत्र (स.चा.अ.प) जारी सम्बन्धी निवेदन सँकलन, लिखित तथा प्रयोगात्मक परीक्षा सँचालन, दस्तुर सँकलन र स.चा.अ.प जारी सम्बन्धी कार्य सम्बन्धित कार्यालयबाट हुने गरेको ।
६. उनका एक जना सहयोगी अहिले अमेरिका भासिएको विभागका तत्कालीन निर्देशकले सुनाए ।
खण्डन : मेरा लागि भनी तोकेर कुनै सहयोगी नरहेको ।
७. प्राविधिक कर्मचारी वृत्तमा ‘हुकुमको एक्काका रुपमा परिचित महर्जन लास्टै चतुर कर्मचारी मानिन्छन् । अवैध लाइसेन्स जारी धन्दाको खेलाडी भनेर चर्चामा आएका महर्जन २०७५ असोज ४ गते यातायात व्यवस्था विभागबाट सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका थिए ।
खण्डन : हुकुमको एक्का, लास्टै चतुर र खेलाडीजस्ता ३ वटा विशेषता तल्लो स्तरको र कपोल्कल्पित रहेको ।
८. उनले त्यहाँ बस्दा पनि कालीमाटीस्थित घर बनाउन ठेकेदार डिजी मार्केटका आदित्य झासँग आर्थिक लाभ लिएको चर्चा छ ।
खण्डन : कसैसँग पनि कुनै पनि प्रकारका लाभ नलिएको
९. भूमि व्यवस्थापन विभागमा सर्भरलगायत आईटीका खरिदमा राम्रै ‘समृद्धि’ हासिल गरेपछि महर्जन अहिले त्यहीँ प्रकृतिको कामका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेको चर्चा छ ।
खण्डन : विभागको वार्षिक स्वीकृत कार्यक्रम मात्रै सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार शाखा प्रमुखको हैसियतले नियमानुसार कार्य गरेको
: सँघीय मामिला तथा सामान्या प्रशासन मन्त्रालयको मिति २०८०/०४/१८ को निर्णयानुसार सरुवा भएको ।
पुनश्चः म काठमाडौमा जन्मी हुर्केको इमान्दार, कर्तव्यनिष्ट र अनुशासित ब्यक्ति हो। पढाइको सवालमा विध्यालयदेखि स्नातकोत्तरसम्म प्रथम भएको मैले आफ्नो जागिरको १० वर्षमा रहँदा गर्दा आजसम्म अनाहक यस्तो बदनाम कहिल्यै भएको थिएन। म जहाँ गए आफ्नो कामले आफूलाई चिनाएँ। त्यो कुरा म जहाँ बसे ती प्रत्येक निकायमा गएर बुझ्दा हुन्छ। तर यसरी बिना क्रस चेक आफ्नो Publicity का लागि यस्तो गलत तथा भ्रामक सूचनाले गर्दा आज म धेरै नै मर्माहित र दुखी छु। के साँचिकै नेपाल सज्जनका लागि देश होइन? प्राविधिक भएकै नाताले हामी यति दुख भोग्नु पर्ने हो? विभिन्न निकायहरुको अनुसन्धान नसकिदै यसरी मेरो बारेमा निष्कर्षमा पुग्नु ठीक हो ? के यो मर्यादित पत्रकारिता भित्र पर्छ र? भोलि यो लेख गलत साबित भएमा मेरो जुन बेइज्जती तथा सामाजिक क्षति भएको छ, के यहाँले फिर्ता गराइ दिनु हुन्छ? कृपया यसको बारेमा गहन अध्ययन गरी अनुरोध गरिए अनुसार पहल चाल्नुहुन अनुरोध छ।
श्री केशब राज गौतमका तर्फबाट
१. मेरो सहमति बेगर मेरो फोटो छापेकोमा गम्भीर आपत्ति रहेको ।
२. इन्जिनियर गौतम र श्रेष्ठ बयानका लागि छानबिन समितिले बोलाएको समयमा समितिमा उपस्थित हुन नमानेको समेत प्रतिवेदनका समावेश गरिएको छ ।
खण्डन् : यस सम्बन्धमा अरुलाई औपचारिक पत्राचार गरिएता पनि म केशब राज गौतमलाई कुनै खबर नै गरिएको छैन ।
३. अख्तियार स्रोतका अनुसार ७ वर्ष यातायात व्यवस्था विभागमा बसेका कम्प्युटर इन्जिनियर गौतम पनि अवैध लाइसेन्स जारी धन्दामा मुछिएका हुन् ।
खण्डन् : कति वर्ष कहाँ बस्ने विषय सेवा सँचालन गर्ने मन्त्रालयले निर्णय गर्ने विषयमा म यातायात व्यवस्था विभाग बस्नु मरो रहर नभई बाध्यता हो। त्यहाँ हुँदा मेरो जिम्मेवारी Vehicle Registration System संचालनमा रहेको थियो ।यसरी के आधारमा मलाई अवैध लाइसेन्स जारी धन्दामा मुछिएको हो? र अवैध लाइसेन्स जारी भए नभएको विषय छानबीनमै रहेकोले निर्क्यौल गरिहाल्न नमिल्ने ।
४.भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तानिएका गौतम १२ दिनपछि फेरि २०७६ असोज २४ यातायात व्यवस्था विभाग नै फिर्ता भएको पाइन्छ ।
· खण्डन् : यो हुदै नभएको कुरा कसरी कुन आधारमा आयो ? म अहिले सम्म मन्त्रालयमा रहेको छैन।
५. कम्प्युटर इन्जिनियर गौतमको २०७९ मंसिर २८ गते राष्ट्रिय परिचयपत्रबाट अध्यागमन विभाग सरुवा भएको देखिए पनि उनी अहिले राष्ट्रिय परिचयपत्रमै कार्यरत छन् । अख्तियार स्रोतका अनुसार ७ वर्ष यातायात व्यवस्था विभागमा बसेका कम्प्युटर इन्जिनियर गौतम पनि अवैध लाइसेन्स जारी धन्दामा मुछिएका हुन् । एकैदिन कम्प्युटर इन्जिनियरको नियुक्ति लिएर यातायात व्यवस्था विभागमा पदस्थापन भएका महर्जन झन्डै ३ वर्ष अगाडि सूचना प्रविधि निर्देशक (उपसचिव)मा बढुवा भइसक्दा गौतम भने अझै अधिकृत तहको कम्प्युटर इन्जिनियरमै सीमित देखिन्छन् ।
· खण्डन् : यसको अर्थ के हो ? यसमा मेरो के गल्ति कमजोरी छ र जवर्जस्ति किन बेईज्जत् गर्नुभएको हो ?
श्री सुरज प्रकाश अर्यालका तर्फबाट
·भ्रामक हेडलाईन बनाई अनुमति विना मेरो फोटो प्रयोग गरी समाचारमा राखी चरित्र हत्या गरिएको: खण्डन: विषय वस्तुको गम्भिरतालाई ध्यान नदिई Publicity का लागि मात्र व्यक्तिगत चरित्र हत्या गर्ने प्रयोजनार्थ लेखिएको लेख प्रति मेरो घोर आपति रहेको छ।
· छानबिन समितिले विभागको सूचना प्रविधि शाखामा विगतमा कार्यरत सबै प्राविधिक कर्मचारीहरुलाई बयानका लागि बोलाएको खुल्न आएको छ ।
खण्डन : विभागले मलाई बयानका लागि नभई छलफल गर्नुपर्ने भएकाले भनी पत्राचार गरेको।
· महर्जनसँगै २०७० साल साउन २९ गते कम्प्युटर इन्जिनियरबाट सरकारी सेवामा प्रवेश गरेका सुरज प्रकाश अर्याल आईटी सेक्टरका चर्चित खेलाडी हुन ।
खण्डन: “चर्चित खेलाडी जस्तो शव्द प्रयोग गरी गलत अर्थ लगाउन खोजिएको ”
· अख्तियार स्रोतका अनुसार उनी पनि अवैध लाइसेन्स जारी धन्दामा मुछिएका छन् ।
खण्डन: “सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने नियमित अनुसन्धानको कार्यलाई दोषी भईसकेको जसरी अर्थ लाग्ने गलत शब्द ‘मुछिएको’ प्रयोग गरिएको ”
· यातायातमा अवैध लाइसेन्स जारी धन्दा रोकिने र छानबिन हुने प्रक्रिया अघि बढेपछि अर्याल रमाना लिएर सञ्चार मन्त्रालय पुगेको चर्चा छ ।
खण्डन: “सामान्य प्रसाशन मन्त्रालयबाट स्वत: सरुवा भई सरुवाको निर्णयको नियमानुसार रमाना लिने अवधि भित्र रमाना लिएको सामान्य विषयलाई अनावश्यक रुपमा अर्थ्याई ‘चर्चा छ’ जस्तो भ्रामक शब्द प्रयोग भएको ”
· उनी अहिले सञ्चार मन्त्रालयमा आईटीका चर्चित व्यक्ति महर्जनको मातहतमा रहेर काम गरिरहेका छन् ।
खण्डन: “अनावश्यक रुपमा आइटीका चर्चित व्यक्ति शब्द प्रयोग गरी गलत अर्थ लगाउन खोजिएको”
· २०७० साउन २९ गतेदेखि २०७५ कार्तिक १४ गतेसम्म निर्वाचन आयोगमा कार्यरत अर्याल अध्यागमन प्रणालीको विवादित ठेक्का फत्ते गर्न अध्यागमन विभाग पुगेका थिए । उक्त ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीको डिजाइनमा उनले काम फत्ते गरेको चर्चा छ ।
खण्डन: “अध्यागमन प्रणाली विकास तथा समग्र अध्यागमन सुधार जस्तो महत्वपूर्ण तथा प्रसंशालायक कार्यलाई बिना आधार विवादित भनिएको, साथै निजामती कर्मचारीले अहोरात्र मिहिनेत गरी गरेको कार्यको अवमुल्यन गर्ने तरिकाले कसैको डिजाइनमा काम फत्ते गरेको जस्ता तुच्छ तथा आधारहीन शब्द प्रयोग गरी मानमर्दन गर्ने प्रयास गरिएको ”
· यातायातमा हुँदा चलखेल गरेका उनी अहिले पनि विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीसँग मिलेर पुरानै काम गरि रहेको चर्चा छ ।
खण्डन: “बिना आधार तथा प्रमाण ‘चलखेल गरेको’ जस्तो गम्भीर आरोप लाग्ने शब्द प्रयोग गरी चरित्र हत्या गर्न खोजिएको, साथै सम्पूर्ण बरबुझारथ समेत गरेर अन्यत्र कार्यालय गईसकेको कर्मचारीलाई ‘चर्चा छ’ जस्तो आधारहिन अड्कलबाजी प्रयोग गरी अहिले पनि विभागका कम्प्युटर इन्जिनियरसँग मिलेर पुरानै काम गरि रहेको भनि झुठो कपोकल्पित आरोप लगाईएको”
श्री कपिला श्रेष्ठ थैबका तर्फबाट
१.फोटो सहितको लेख
खण्डन: उक्त फोटो सहित लेखमा विषय वस्तुको गम्भिरतालाई ध्यान नदिई Publicity का लागि मात्र व्यक्तिगत चरित्र हत्या गर्ने प्रयोजनार्थ लेखिएकोमा मेरो घोर आपत्ति रहेको।
२.अवैध लाइसेन्स जारी भएको अवधिमा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखामा सूचना प्रविधि निर्देशकको पदमा श्रीचन्द्र साह र पवित्र डंगोल कार्यरत रहेका थिए । कम्प्यूटर ईन्जिनियरको पदमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैव, सन्तोष पोखरेल र सुरज प्रकाश अर्याल कार्यरत रहेका थिए।
खण्डन : अवैध लाइसेन्स जारी भए नभएको विषय छानबिनमै रहेकोले निर्क्यौल गरिहाल्न नमिल्ने।
३. इन्जिनियर गौतम र श्रेष्ठ बयानका लागि छानबिन समितिले बोलाएको समयमा समितिमा उपस्थित हुन नमानेको समेत प्रतिवेदनका समावेश गरिएको छ ।
खण्डन : यस सम्बन्धमा अरुलाई औपचारिक पत्राचार गरिएता पनि म कपिला श्रेष्ठ थैब लाई कुनै औपचारिक पत्राचार नै गरिएको छैन ।
४.अवैध लाइसेन्स जारी धन्दामा विभागका तत्कालीन कम्प्युटर इन्जिनियर सन्तोष पोखरेल र कपिला श्रेष्ठ थैव पनि मुछिएका छन् ।
खण्डन : मुछिएका छन् भन्ने आधार के हो ?
श्री भानुभक्त जोशीका तर्फबाट
· भ्रामक हेडलाईन बनाई अनुमति विना मेरो फोटो प्रयोग गरी समाचारमा राखी चरित्र हत्या गरिएको: खण्डन: विषय वस्तुको गम्भिरतालाई ध्यान नदिई Publicity का लागि मात्र व्यक्तिगत चरित्र हत्या गर्ने प्रयोजनार्थ लेखिएको लेख प्रति मेरो घोर आपति रहेको छ।
· यातायातमा हुँदा चलखेल गरेका उनी अहिले पनि विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीसँग मिलेर पुरानै काम गरि रहेको चर्चा छ ।
खण्डन: मैले राष्ट्रसेवक कर्मचारीको हैसियतले पूर्ण अनुशासित भई कार्यालयको प्राप्त पत्रमा तोक आदेशका आधारमा मलाई सूचना प्रविधि निर्देशकले दिएको युजरको पासवर्ड प्रयोग गरी काम गरी रहेको छु। शुरुमा EDL सम्बन्धी ज्ञान नभएकोले सिनियरको नाताले केही दिन असल नियत राखी कम्प्युटर ईन्जिनियर सुरज प्रकाश अर्यालसँग प्राविधिक सहायता लिएको मात्र हो। गलत नियत राखी वहाँसँग गरिएको कुनै प्रमाण भए प्रस्तुत गर्नुहुन।