‘ठेगाना आईडी’ एप सार्वजनिक, अब टेलिकमका ग्राहकले मोबाइलबाटै केवाईसी अपडेट गर्न सक्ने

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० १३:१६
‘ठेगाना आईडी’ एप सार्वजनिक, अब टेलिकमका ग्राहकले मोबाइलबाटै केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं । ठेगाना सर्भिसेसले केवाईसी अपडेट गर्न सजिलाे बनाउने ‘ठेगाना आईडी’ एप सार्वजनिक गरेको छ । बुधवार कम्पनीले आईओएस र एन्ड्रोइडका लागि एप सार्वजनिक गरेको हो ।पहिचान प्रमाणीकरणको प्रक्रियालाई सहज बनाउन बजारमा आएको यो कम्पनीले मोबाइलबाटै केवाईसी अपडेट गर्न मोबाइल एप सार्वजनिक गरेको ठेगाना सर्भिसेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल केसीले बताए ।

“यो एपले पहिचान प्रमाणीकरण प्रक्रिया सहज र सरल बनाउँछ,” टेकपानासँग कुरा गर्दै सीईओ केसीले भने, “त्यसका साथै यो प्लेटफर्मले सेवाग्राहीको व्यक्तिगत विवरण, डिजिटल प्रमाणपत्र तथा दस्तावेजलाई सुरक्षित राख्छ ।”

विशेषगरी बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक कम्पनी र अन्य विभिन्न संघसंस्थाको सेवा लिन सेवाग्राहीले हरेक पटक परम्परागत तरिकाले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । हरेक पटक उही विवरण भरिरहने प्रक्रिया झन्झटिलो भएको भन्दै त्यसलाई सहज, सरल र छिटो बनाउन ठेगाना आईडी सुरु गरिएको केसीले सुनाए ।

गत वर्ष ठेगाना सर्भिसेस र सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमबीच सहकार्य भएको थियो । अब टेलिकमकाे केवाईसी अपडेट गर्न सेवाग्राही कार्यालयसम्म धाउनु नपर्ने केसीले बताए ।

“हाम्रो पहिलो ग्राहक टेलिकम हो । टेलिकमका ग्राहकले अब घरमै बसेर ठेगाना आईडी एप डाउनलोड गरी आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन्,” उनले भने, “एकपटक केवाईसी भरिसकेपछि उक्त विवरण पछिसम्म काम लाग्छ । त्यति मात्र नभई सेवाग्राहीले अर्को पटक सहजै केवाईसी अपडेट गर्न सक्नेछन् ।”

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर ठेगाना आईडीको एप डाउनलोड गर्न सक्नेछन् ।

एप डाउनलोड गरिसकेपछि सेवाग्राहीले आफ्नो नम्बर र ईमेल एड्रेस भेरिफाई गर्नुपर्ने हुन्छ । अकाउन्ट बनाउँदा व्यक्ति पहिचानका लागि सेल्फी खिच्नुपर्ने हुन्छ ।

“फोटोबाट कसैले पनि अकाउन्ट बनाउन नसकोस् भनेर हामीले सम्बन्धित व्यक्ति नभई अकाउन्ट नखुल्ने प्रणाली विकास गरेका छौं,” उनले भने, “त्यसमा सेल्फी क्यामेराबाट फोटो खिच्नुका साथै दायाँ र बायाँ फर्किनुपर्ने हुन्छ । त्यस्तै कतिपय अवस्थामा केही जेस्चर गर्न लगाउँछ ।”

त्यसपछि सेवाग्राहीले एपमा आफ्नो नागरिकता, पासपोर्ट, भोटर आईडी कार्ड वा अन्य विभिन्न कागजात अपलोड गर्न सक्छन् । ठेगाना सर्भिसेसले एपमा प्रयोग गरेको ओसीआर प्रविधिले डकुमेन्टमा भएको शब्दहरू उतार्छ र त्यसलाई केवाईसी फर्ममा राखिदिन्छ । सेवाग्राहीले डकुमेन्टमा नभएका विवरण मात्र केवाईसी फर्ममा भर्नुपर्ने हुन्छ ।

यसरी एपबाटै केवाईसी अपडेट गर्ने सुविधा हुँदा प्रयोगकर्ताको डेटा सुरक्षित हुने केसीले सुनाए ।

“प्रयोगकर्ताले जुन संस्थालाई केवाईसी विवरण पठाउनुपर्ने हुन्छ, त्यो संस्थाले बाहेक अन्य कुनै पनि संस्थाले त्यसमा पहुँच पाउँदैनन्,” उनले भने, “पछिल्लो समय सर्वसाधारणको व्यक्तिगत विवरण दुरुपयोग भएका भन्ने घटनाहरू देखा परेका छन् । यो प्रणालीमा विवरणहरू अन्य पक्षले पाउने सम्भावना निकै कम हुन्छ ।”

यसरी भेरिफाई भएको केवाईसी नेपाल टेलिकमको केवाईसी अपडेट गर्न प्रयोग गर्न सकिने उनले बताए । साथै प्रयोगकर्ताको विवरण कसैले पनि ट्रयाक गर्न नसक्ने उनले दाबी गरे । यसले डेटामा एकरुपता ल्याउनुका साथै धेरै काम सहज हुने केसीकाे विश्वास छ ।

“हाललाई हामीले केवाईसी अपडेटबाट मात्र सेवा सुरु गरेका छौँ । आउने दिनमा सोही केवाईसी नेपाल टेलिकमको अन्य सेवाका लागि पनि प्रयोग गर्नसक्ने गरी व्यवस्था गर्नेछौँ,” उनले भने ।

सेवा विस्तारका लागि नेपाल टेलिकमसँगै अन्य संस्थाहरूसँग पनि छलफल भइरहेको केसीले जानकारी दिए । एकपटक भरेको केवाईसी ‘ठेगाना आईडी’मा आबद्ध सबै संस्थामा प्रयोग गर्न सकिने उनले बताए ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० १३:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट