राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल ३९ भोट ल्याएर निर्वाचित

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० १३:३५
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल ३९ भोट ल्याएर निर्वाचित

राष्ट्रियसभा अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकबाट मतविभाजन प्रक्रियाद्वारा उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दाहाल नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । राष्ट्रियसभा अध्यक्षमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ जना सांसदहरूले मतदान गरे भने विपक्षमा १७ सांसद उभिए ।

बैठकको मत-विभाजन प्रक्रियामा ५६ जना सांसदहरूको उपस्थिति थियो । त्यसमा शर्माको पक्षमा १७ जना मात्रै सांसद देखिँदा विपक्षमा ३९ जना उभिए । यससँगै शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा लागे । तर, पूर्णकालीन राजनीतिज्ञ भने उनी २०३६ सालपछि मात्रै बने । २०४८ महाधिवेशन प्रतिनिधि बनेका उनी अहिले पार्टीको स्थायी समिति सदस्य हुन् । उनी २०५७ सालदेखि पार्टी केन्द्रीय सदस्य भएर काम गर्दै आएका छन् ।

बृहत् शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका उनी २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन ३ बाट निर्वाचित भए। भारतमा रहेर नेपाली एकता समाजमा समेत काम गरेका उनी पछि भेरी-कर्णाली र सुर्खेत जिल्लाको इन्चार्जसमेत बने । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी कास्की जिल्लाको इन्चार्ज बनेका थिए ।

दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशासनिक सल्लाहकार भएरसमेत काम गरिसकेका छन् । २०७५ सालमा एमाले-माओवादी एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उनी बागमती प्रदेश समिति अध्यक्ष बनेका थिए ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट